माधव नेपाल सोधेरै देउवाकहाँ जानु भएको हो : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।
बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखेका थिए । नेता नेपाल बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए ।
माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले भने आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताएका छन् । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’
उनले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवादउन्मुख बनाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक भएको छ । यसको डिफेन्ड गर्नुस् र कार्यान्वयनमा जोड दिनुस् ।’







