माधव नेपाल : यता, उता, यता, उता, फेरि यता
काठमाडौं । माधव नेपाल महासचिव छउन्जेल एमालेलाई ढुलमुले नीति लिने पार्टी भनी चिनिन्थ्यो । अचेल एकीकृत समाजवादीको अध्यक्ष भएपछि उनका नीतिगत अलमलले विगतकालीन छवि सम्झाउँछन् ।
छन त नेपाल एमाले–माओवादीसहितको नयाँ सत्ता गठबन्धनमा छन्, तर उनको भावना विपक्षी गठबन्धनसँग टाढा पनि देखिँदैन । जस्तो कि, बुधबार प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा डाकिएको विपक्षी भेलामा जान उनलाई आफ्नै दलका दोस्रो तहका नेता साथ दिन तयार भएनन् । कोही नपाएपछि उनी मेटमणि चौधरी लगेर देउवाकहाँ गए ।
बिहीबार बिहान त उनको प्रधानमन्त्री प्रचण्डसँग कुराकानी भइहाल्यो ।
तर कांग्रेससँगको पछिल्लो भेटशृंखला सम्झौं । यसबीचमा कांग्रेस सभापति देउवालाई नेपालले तीन पटक भेटिसकेका छन् । २१ फागुनमा नयाँ गठबन्धन बन्न नदिन देउवा–नेपालले भेटे । प्रधानमन्त्री प्रचण्ड एमालेसँग गठबन्धन बनाउन तयार भइसकेकाले त्यो भेटले सार्थकता पाउन सकेन ।
एकीकृत समाजवादी पनि सरकारमा सहभागी बन्यो । तर, नयाँ समीकरणको विकल्पमा छलफल गर्न नेपालले कांग्रेससँग संवाद टुटाएनन् । ५ वैशाखको साँझ कांग्रेस सभापतिलाई भेट्न नेपाल पूर्वपरराष्ट्र मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटार पुगे । उक्त भेट सुदूरपश्चिममा सरकारमा कांग्रेसको साथ खोज्न माधव त्यहाँ पुगेका थिए । गठबन्धनबाट सुदूरपश्चिममा मुख्यमन्त्रीको भाग एकीकृत समाजवादीलाई परेको थियो ।
एमाले दीर्घ सोडारीलाई मुख्यमन्त्री स्वीकार्न तयार थिएन । सोडारीको ठाउँमा अर्को व्यक्ति सार्नुपर्ने एमाले अडानले गर्दा संकटमा परेपछि कांग्रेसको साथ खोज्न नेपाल गोल्फुटार पुगेका थिए । कदाचित् एमालेले सोडारीलाई मुख्यमन्त्री स्वीकार्न तयार नभए कांग्रेसले साथ दिने प्रतिवद्धता जनायो । कांग्रेसको भय देखाएर एमालेलाई दबाबमा राख्न नेपाल सफल भए ।
एमालेले बाध्य भएर मुख्यमन्त्रीमा सोडारीलाई स्वीकार्यो । कांग्रेसलाई देखाएर एमाले तर्साएपछि २ जेठमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पनि पाए । उक्त भेटबारे कांग्रेसका नेताले भनेका थिए, ‘सुदूरपश्चिममा सरकार गठनमा देखिएको समस्याबारे उहाँ दुईबीच कुराकानी भएको हो । वैकल्पिक समीकरणका विषयमा पनि छलफल भयो ।’
१६ जेठ (हिजो) कांग्रेस सभापति देउवाले मधेस प्रदेश सरकार केन्द्रित छलफलका लागि एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादीलाई घरमा डाकेका थिए । त्यहाँ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी पुग्दैगर्दा नेपाल पनि चौधरीलाई लिएर पुगे ।







