मधेश सरकार जोगाउने कि ढाल्ने ? अलमलमा लोसपा र एकीकृत समाजवादी
जनकपुरधाम । एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् ।
मधेश प्रदेशसभाको तेस्रो अधिवेशन २१ जेठको दिउँसो २ बजे बोलाइएको छ । मुख्यमन्त्री यादवले सदन आह्वान भएकाले विश्वासको मत लिने बताए । उनले २३ जेठमा विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।
३० वैशाखमा एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले २९ जेठसम्म विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिएपछि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउने मुख्यमन्त्रीको तयारी छ ।
तर उनको पक्षमा प्रदेशसभामा बहुमत पुग्नेमा आशंका छ । केन्द्रको सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी हालसम्म पनि जसपा नेपाल नेतृत्वको सरकार छाडेको छैन ।
जसपाले आफ्नो नेतृत्वको सरकार जोगाउन प्रतिपक्षी नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)संग पनि संवाद गरिरहेको छ ।
बुधबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको थियो । उक्त छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका थिए । मधेश प्रदेशसभामा यी चार दल मिलेमा बहुमत पुग्छ ।
मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपाका १९, लोसपाका ८ र एकीकृत समाजवादीका ७ गरी ५६ जना सांसद छन् । तर १०७ सदस्यीय प्रदेशसभामा ५४ सांसदले नै बहुमत पुग्छ । मुख्यमन्त्री यादवले आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको दावी गर्दै आएका छन् ।







