बागमती प्रदेशसभा : सन्तुलित बजेट ल्याउन सांसदको माग
मकवानपुर । बागमती प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा सन्तुलन कायम गर्न माग गरेका छन् । सोमबार बसेका २ वटा प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले चालु आर्थिक वर्षको बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै सन्तुलित र व्यवहारिक बजेट ल्याउन माग गरेका हुन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले नागरिकहरूको जीवन स्तर लक्षित कार्यक्रम ल्याउन सुझाव दिए । छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षका १८ जना सांसदहरूले बजेटलाई व्यवहारिक बनाउन सुझाव दिएका हुन् ।
कृषि क्षेत्र र पर्यटन विकासमा सरकारले व्यवहारिक योजनासहित कार्यान्वयनमा अघि बढ्न उनीहरुले आग्रह गरेका छन् । व्यवहारिक र सिप युक्त शिक्षा, सर्वसुलभ स्वास्थ्य, नागरिकमैत्री प्रशासन र गुणस्तरिय सेवा प्रवाहमा सरकारले ध्यान दिन जरुरी रहेको उनीहरुले बताए ।
परम्परागत शैलीको बजेटमा ल्याउने तयारीमा भयो : कांग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले बजेट परम्परागत ढंगबाट ल्याउने कसरत भएको टिप्पणी गरेको छ । नागरिकहरूको आर्थिक अवस्था सुधारका लागि सरकारले योजना मार्फत खासै पहल गर्न नसकेको कांग्रेस सांसदहरूको भनाई छ । कांग्रेस सांसद सुना परियारले सरकारले बजेट विनियोजन प्रणालीमा सुधार गर्ने प्रयत्न नगरेको बताइन् ।
उनका अनुसार सरकारले विगतको आधारहीन योजनाहरू समावेश गरेर आगामी वर्षको बजेट ल्याउने तर्फ अग्रसर भएको छ । १० वटा शितभण्डार चल्न सक्ने अवस्थामा रहेकाले सरकारले त्यस विषयमा जवाफदेहित देखाउन नचाहेको उनले बताइन् । बजेट खर्च तथा राजस्व संकलनमा सरकारले काम गर्न नसकेको उनको भनाई छ । सरकार राजस्वको दर बढाउन केन्द्रित भएको र करको दायरा वृद्धिमा सोच्न नचाहेको उनले बताइन् । प्राकृतिक स्रोतको उपयोग हुन नसक्दा विपद्जन्य घटना निम्तिने संकट परिरहेको र त्यसलाई न्यूनीकरण गर्ने तथा प्राकृतिक स्रोतको उपयोग गर्ने कानुन निर्माणमा सरकारले काम गर्न नसकेको उनले बताइन् ।
कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकारको नीति तथा कार्यक्रम रनभुल्ल परेको बताए । सरकारको नीति तथा कार्यक्रमले बजेटलाई निर्देशित गर्नुपर्ने भएपनि यसो हुन नसकेको उनले बताए । जनताको आवश्यकता र मागका विषय सरकारको नीति तथा कार्यक्रममा समेट्ने बारेमा आर्थिक मामिला तथा योजना मन्त्रीले जाँगर देखाउन नचाहेको उनले आरोप लगाए । सरकारले बजेट तथा कार्यक्रमलाई उत्पादनशिलतासँग जोडेर उत्पादन वृद्धि र रोजगारी सृजनामा केन्द्रित गर्नुपर्ने उनको भनाई छ । जनतालाई डेलिभरि दिने विषयमा सरकार गम्भीर भएर काम गर्नुपर्ने उनले बताए ।
कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले औद्योगिकीकरण सरकारको प्राथमिकतामा रहनु पर्ने बताए । सरकारको अर्थतन्त्र वृद्धिका लागि उत्पादन क्षेत्रमा बजेट बढाएर औद्योगिकीकरणमा जोड दिन जरुरी रहेको उनले बताए । औद्योगिकीकरणले सरकारलाई सक्षम बनाउनुको साथै रोजगारी सृजनामा समेत भूमिका खेल्ने उनको भनाई छ । प्रदेश सरकारले पुरानो ढर्रा त्यागेर नयाँ प्रकृतिको रोडम्याप सही विकासको गतिमा काम गर्नुपर्ने उनले बताए ।
राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारले विगतदेखि नै गैरजिम्मेवार बन्दै गएको बताए । सरकारमा नरहेका सांसदहरूलाई उपेक्षा गर्ने ढंगबाट सरकार अघि बढेको उनले बताए । जनताको आयआर्जन बढाउने, वातावरणमैत्री विकास पूर्वाधारमा सरकारले जेड दिनुपर्ने उनको भनाई छ । रातोपाटीबाट ।







