बकैयाको कालीदेवी माविको विद्यालय भवन हस्तान्तरण

जापान सरकारको सहयोगमा निर्माण भइरहेका ४१ विद्यालयमध्ये हालसम्म १६ विद्यालय हस्तान्तरण भैसकेका छन् ।
जनपत्र
२ आश्विन २०७६, बिहीबार १९:१८

हेटौंडा । भूकम्प पश्चात मकवानपुर जिल्लामा पुनर्निर्माण भएका विद्यालयहरु मध्ये कालीदेवी मावि बकैया–९, शिखरपुरको दुई तले ७ कोठे भवन एक समारोहका बीच समुद्घाटन एवम् हस्तान्तरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी प्रमुख अतिथि रहनु भएको थियो । विभिन्न संघसंस्था, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख, परामर्शकर्ता ओसिजीका जिल्ला आवासीय इन्जिनियर, छिमेकी विद्यालयका प्रअ, बकैया गाँउपालिकाका शिक्षा संयोजक, वडा नं ९ का वडा अध्यक्ष सहित अभिभावक तथा विद्यार्थीहरुकाबीच सभासद प्रेमबहादुर पुलामीले विद्यालय भवन समुद्घाटन गर्नुभयो ।

२०७५असोज १६ मा सम्झौता भई स्वच्छन्द खानी जेभीका तर्फबाट निर्माण गरिएको विद्यालय सम्पन्न गर्ने मितिभन्दा साढे तीन महिना अगावै सम्पन्न भई हस्तान्तरण भएको हो । विद्यालय भवनका अतिरिक्त फर्निचर, मुख्य ढोका, कम्पाउण्ड वाल, रिटेनिङ्ग वाल र चौर सम्याउने कार्यसमेत यसै अन्तर्गत गरिएको छ ।

जापान सरकारको ऋण सहयोग रु दुई करोड ५५ लाख ८ हजार रुपैयाँ लागतमा निर्मित उक्त भवन भूकम्प प्रतिरोधी, बालमैत्री, अपाङ्ग मैत्री रहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानन्यापक हरिवंश चौधरीले गर्नुभएको थियो भने वडा अध्यक्ष टंकध्वज लोप्चन, परामर्शकर्ताको प्रतिनिधि रोजेश गोविन्द श्रेष्ठ, जिल्ला आयोजना कार्यान्वयन इकाईका बद्रीबहादुर पाठकले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले दुर्गम स्थानमा विद्यालय भवन बनेर हाम्रो आवश्यक्ता पुरा भएकोमा जापान सरकारप्रति धन्यबाद ज्ञापन गर्नुहुदै विद्यालयको संरक्षण र सरसफाईमा विशेष ध्यान दिन विद्यालय परिवार र अभिभावकलाई आग्रह गर्नुभयो ।

उहाँले विद्यालय भवनसंगै विद्यार्थी नियमित उपस्थिति, पठनपाठन सुधार र शैक्षिक गुणस्तर सुधार गर्न जोड दिनु भएको थियो । सरोकारवालाको सक्रियतामा विद्यालयका हरेक क्रियाकलापमा सुधार ल्याउन सबैमा अनुरोध गर्नुभएको थियो । यस जिल्लामा जापान सरकारको सहयोगमा निर्माण भइरहेका ४१ विद्यालयमध्ये हालसम्म १६ विद्यालय हस्तान्तरण भैसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*