शपथपछि सांसद सुहाङले सुनाए तीन प्राथमिकता

जनपत्र
२६ बैशाख २०८१, बुधबार १३:०६

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् ।

सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

बुधबार सांसद पदको शपथ ग्रहणपछि पत्रकारहरूले सोधेका प्रश्नमा जवाफ दिने क्रममा नेम्वाङले इलामेली जनताको मायाबाट आफू यहाँसम्म आइपुगेकाले इलामकै समस्या समाधानमा विशेष ध्यान दिने बताए । ‘इलामको समस्यालाई समाधान गर्नको निम्ति मैले के के कुराहरू उठाउनुपर्छ भनेर विशेष ध्यान हुन्छ,’ उनले भने ।

विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्थाको अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘नेपालमा धेरै विकास काम भइरहेको छ, नीति निर्माण भइरहेको छ । तर सुशासनको कमजोरी होस् या ती सबै कामले पूर्णता पाएको छैन, कार्यान्वयन भएको छैन,’ उनले भने, ‘त्यही कारणले हामी सबैले एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कानुन कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*