आगामी बजेटबाट नवप्रवर्तन कोष स्थापना गर्छौं : प्रधानमन्त्री

जनपत्र
२० बैशाख २०८१, बिहीबार १२:०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् ।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवसका अवसरमा काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए ।

‘सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यही यथार्थलाई आत्मसात गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ ।’

कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अरबौंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुने र युवापुस्तालाई देशभित्र आशा जगाउन सकिने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको दाबी गरे । सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*