टाट पल्टेका कम्पनी सूचीकृत भइरहँदा बिग्रिए सेयर बजारका तथ्यांक

जनपत्र
२० बैशाख २०८१, बिहीबार ११:५०

काठमाडौं । वि.सं. २०५० सालदेखि स्वदेशमै टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग २०७१ चैतदेखि बन्द भयो । उपयुक्त नीति अभाव र उद्योगलाई राजनीतिक भर्ती केन्द्रका रूपमा विकास गरिनुले उद्योग व्यवस्थापन सहीरूपमा हुन सकेन ।

गोरखा मजुवामा अहिले यस उद्योगको करिब साढे ५ सय रोपनी जग्गा छ भने काम नलाग्ने अवस्थाका मेसिनरी पार्टपूर्जा छन् । रेखदेख गर्न केही कर्मचारी छन् । बहुसरकारी स्वामित्वको यस उद्योगले सर्वसाधारणमा २५ प्रतिशत सेयर जारी गरेको थियो ।

अहिलेसम्म पनि गोरखकालीको कुल ३८ लाख ३३ हजार ४ सय कित्ता सेयर बजारमा सूचीकृत छ । अंकित मूल्य ७५ रुपैयाँ रहेको यसको नेप्सेमा अन्तिम पटक कारोबार हुँदा मूल्य कित्ताको ३८ रुपैयाँमा झरेको थियो । अहिले पनि प्रतिकित्ता ३८ रुपैयाँका दरले यसको पूँजीकरण १४ करोड ५६ लाख ६९ हजार २ सय रुपैयाँ कुल पूँजीकरणमा जोडिँदै आएको छ । तर कारोबार कहिलै हुँदैन ।

त्यस्तै कमजोर व्यवस्थापनकै कारण २०६६ देखि पूर्णरूपमा बन्द बुटवल धागो कारखानाको दोस्रो बजारमा १३ लाख ६ हजार ६ सय ९३ कित्ता सेयर सूचीकृत छ । अंकित मूल्य १ सयमा जारी भएको यसको सेयर अन्तिम पटक बजारमा कारोबार हुँदा १८ रुपैयाँमा झरेको थियो । त्यही मूल्यका आधारमा अहिले यसको कुल पूँजीकरण रकम २ करोड ३५ लाख रुपैयाँ जोडिँदै आएको छ । तर काराेबार कहिलै हुँदैन ।

यी दुई कम्पनी प्रतिनिधि उदाहरणमात्र हुन् । बजारमा सूचीकृत, तर वर्षौंदेखि कारोबार नभएका उत्पादन समूहका यस्ता १३ कम्पनी छन् । तिनमा अरुण वनस्पति घिउ उद्योग, विराट सुज, बुटवल धागो कारखाना, हिमालयन फ्लोर (जडीबुटी उद्योग), गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा उद्योग, ज्योति धागो कारखाना, नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग, नेपाल खाद्य उद्योग, नेपाल वनस्पति घिउ उद्योग, रघुपति जुट मिल, भृकुटी कागज कारखाना र श्रीराम सुगर मिल छन् ।

तीमध्ये हिमालयन फ्लोर र बिटुमिन एन्ड ब्यारेल कम्पनी अहिले पनि सञ्चालनमा छन्, तर बजारमा सेयर कारोबार हुन छाडेको वर्षौं भइसक्यो । हिमालयन फ्लोरले हर्बल औषधिहरू उत्पादन गर्दै आएको छ । बजारमा यसको २ लाख ६२ हजार १ सय २ कित्ता सूचीकृत छ । अरुण वनस्पति घिउ उद्योगको ५ लाख ५० हजार ३ सय ४३ कित्ता सेयर सूचीकृत छ । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा रहेको यस उद्योगका उपकरण कवाड अवस्थामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*