इजरायलले सुरु गर्‍यो इरानमाथि हमला, इरानद्वारा अस्वीकार

जनपत्र
७ बैशाख २०८१, शुक्रबार १६:०५

इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ ।

इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ ।

इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ ।

इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ । परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् ।

इरानले भन्यो- हमला भएको छैन 

इरानले भने आफ्नो भूमिका कुनै पनि प्रकारको हमला नभएको जनाएको छ । इरानी स्पेस एजेन्सीका प्रवक्ता हुसैन दालिरियनले भनेका छन्, इस्फहान या देशका कुनै पनि भागमा वाहिरबाट हवाई हमला भएको छैन ।’

इजरायलले केबल ड्रोन मात्र उडाएको र ती ड्रोनलाई खसालिएको इरानको भनाइ छ । इरानको सरकारी मिडियाले इस्फहानस्थित परमाणु हतियारसँग सम्बन्धित क्षेत्रको भिडियो जारी गर्दै उक्त क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको जनाएको छ ।

इरानले हवाई प्रतिबन्ध लगाइएका क्षेत्र पनि फुकुवा गरिएको जनाएको छ ।

गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाई हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको अमेरिकी अधिकारीहरुले बताएका थिए ।

इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*