बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, हानेपाका बज्राचार्यद्वारा पर्यटनमन्त्रीमा सपथग्रहण

हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । आज साँझ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बर्जाचार्यलाई प्रदेशको संस्कृति, पर्यटन तथा संस्कृति मन्त्रीका रुपमा नियुक्त गरेर आजै सपथग्रहण गरिएको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री बर्जाचार्यलाई सपथग्रहण गराउनुभया । अहिलेको नयाँ गठवन्धनको सरकारलाई बहुमत पुर्याउनका लागि समस्या भइरहेको समयमा आज बर्जाचार्यलाई मन्त्रीमा नियुक्त गरेसंगै बागमती प्रदेश सरकारलाई बहुमत पनि पुगेको हो ।
मन्त्रीका रुपमा सपथग्रहण गरेलगतै पत्रकारहरुसंग प्रतिक्रिया दिदै मन्त्री बर्जाचार्यले यस प्रदेशमा आफुहरु सरकारमा सहभागि नहुँदा फेरी चुनाबमा जानुपर्ने बाध्यात्मक अवस्था आएकाले सरकारमा सहभागि भएको बताउनुभयो ।
मंगलबार मात्र यस दलले हालको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो । जसका कारण वर्तमान माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । हानेपासँग दुई सांसद रहेका छन् ।
गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।
वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपालीको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।