कैलाश गाउँपालिकामा दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको सुरु

जनपत्र
८ चैत्र २०८०, बिहीबार ११:४४

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको सुरुवात भएको छ । आजदेखि सुरु भएकाे प्रतियोगिताकाे गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले उद्घाटन गर्नुभयो । कैलाश–९ स्थित नामटारमा सुरु भएकाे प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १० ले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर ४ लाई ३–० गाेलकाे फराकिलो अन्तरले पराजित गर्दै वडा नम्बर १० विजयी भएकाे हो । प्रतिस्पर्धामा बुद्ध थिङ र सागर बलले एक-एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको हो । वडा नम्बर १० प्रतियोगिताको साविक विजेतासमेत हो । यस्तै बुधबारको दोस्रो खेलमा वडा नम्बर ५ र ९ बीच पहिलाे हाफ खेलेर रोकिएको छ । बाँकी समयको खेल बिहिवार बिहान हुने रेफ्री सन्तोष राईले बताउनुभयो ।

विजयी टिमले बिहिबार वडा नम्बर ८ सँग प्रतिस्पर्धा गर्नेछ । यस्तै बिहिबार वडा नम्बर २ र ३, वडा नम्वर ६ र ७ नम्बर बीच प्रतिस्पर्धा हुनेछ । कैलाश खेलकुद विकास समितिका संयोजक मोहन वाईबाको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बाल कुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्का र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*