मेनुकालाई सञ्जय मिश्रा स्टारर बलिउड फिल्ममा गीत गाउने मौका

जनपत्र
२९ माघ २०८०, सोमबार ०६:५७

‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले सञ्जय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन् ।

भारतीय समाचार संस्था आइएएनएसले आइतबार जनाएअनुसार यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन तथा निर्देशन गर्नेछिन् ।

यो फिल्ममा चर्चित अभिनेता मिश्रासहित फरिदा जलाल, अल्का अमिन, वैष्णवी म्याकडोनाल्ड, अम्मन खान र नुपुर शर्माको अभिनय रहनेछ । यो फिल्ममा सोनु निगम र साधना सरगमले पनि गीत गाउनेछन् ।

मेनुकाले यसअघि ‘सलार’बाट दक्षिण भारतीय फिल्ममा पाश्र्वगायिकाको रुपमा डेब्यु गरेकी थिइन् । ‘कर्मा मिट्स किस्मत’ उनको दोस्रो भारतीय प्रोजेक्ट हुनेछ ।

उक्त समाचारका अनुसार यो फिल्मका लागि मेनुकाले गीत रेकर्ड गराइसकेकी छन् । गीत गाएर आफ्नो अनुभव बाँड्दै मेनुकाले एजेन्सीसँग भनिन्, ‘मलाई यो सुन्दर बाटो खुलेको जस्तो माया र आशीर्वादले म निकै प्रभावित छु । यो फिल्मको लागि ठूलो आशिर्वाद हो । यसको कथाले मलाई गहिरो रूपमा प्रेरित गरेको छ । यो रोमान्टिक सुफी गीत एक उत्कृष्ट कृति हो जुन सीधा हृदयमा जान्छ, हामीलाई यसको शुद्ध रूपमा प्रेमको सम्झना गराउँछ ।’

गीतका लागि मेनुकालाई रोज्नुको कारण बताउँदै निर्देशक सिन्हाले भनिन्, ‘मेनुकाको स्वरमा रहेको इमान्दारिता र शुद्धताले मलाई चुम्बक झैं उनीतिर तान्यो । यही कारणले गर्दा उनी विश्वभरका करोडौंको मन छुन्छिन् ।’

मेनुका यतिबेला काठमाडौंमा छिन् । गतसाता इण्डियन आइडलको उत्कृष्ट १० को प्रतिस्पर्धाबाट उनी बाहिरिएकी थिइन् । उनले अप्रिलदेखि अमेरिका, बेलायत, मौरिसस, दक्षिण अफ्रिका लगायतका मुलुकमा टूर गर्ने बताएकी छन् । उनले आगामी दिनमा भारत आफ्नो कर्मभूमि हुने समेत बताएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*