नागरिकताभन्दा पहिले नै लाइसेन्स जारी, ट्राफिकको लापरबाहीले यातायात कार्यालय हैरान

जनपत्र
२० भाद्र २०७६, शुक्रबार ०६:११

नागरिकता बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाइन्छ भन्ने कुरा अनौठो लाग्न सक्छ। सरकारले जारी गर्ने हरेक कागजातका लागि नागरिकता अनिवार्य हुन्छ। कानुनी रुपमा बिना नागरिकता लाइसेन्स बनाउन असम्भव छ।

तर विगतमा ट्राफिक प्रहरी कार्यालयले नागरिकता बिना नै लाइसेन्स जारी गरेको खुलेको छ। हाल प्रदेश १ स्थित इटहरीमा रहेको सवारी चालक अनुमतिपत्र नवीकरणका लागि आएका लाइसेन्सको जारी मिति र नागरिकता जारी मिति ट्याली गर्दा यस्तो तथ्य खुलेको हो।

२०५८/५९ भन्दा पहिले लाइसेन्स जारी गर्ने अधिकार गृह मन्त्रालय अन्तर्गत ट्राफिक प्रहरीलाई थियो। त्यसयता सवारीको लाइसेन्स जारी गर्ने अधिकार यातायात व्यवस्था कार्यालयअन्तर्गत सवारी चालक अनुमति पत्रले पाएको छ। साविकका १४ वटै अञ्चलमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र दिने व्यवस्था थियो।

हालको संरचना अनुसार प्रदेश १ अन्तर्गत इटहरीमा रहेको सवारी चालक अनुमति पत्रमा केही समय अघि २०५० सालमा मूल चन्द्र जैन ‘मालु’को नाममा जारी भएको लाइसेन्स नवीकरणका लागि गयो। उक्त लाइसेन्स बाहकको नागरिकता २०६३ फागुन २८ मा जारी भएको देखियो।

उक्त लाइसेन्स ४ पटक नवीकरण भई केही दिनअघि ५औं पटक नवीकरणका लागि इटहरी कार्यालय पुग्यो। यसअघि उक्त लाइसेन्स सहजै नवीकरण हुँदै आएको थियो। तर यो पटक नवीकरण शाखाका अधिकृतले शंका लागेर कार्यालय प्रमुखलाई उक्त विषयबारे जिज्ञासा राखेपछि कार्यालय प्रमुखले तत्काल त्यस्ता लाइसेन्स नवीकरणमा रोक लगाएको छ।

विभागमा के-कसरी काम हुन्थ्यो भन्ने विषयमा जानकारी लिइरहेको प्रदेश १ सवारी चालक अनुमतिपत्र कार्यालय इटहरीकी प्रखुक विन्दा नेपालले बताइन्। ‘विभागमा लाइसेन्स ट्राफिक प्रहरीले जारी गर्दै आएको थियो। तत्कालीन अञ्चल ट्राफिक प्रहरी कार्यालर अहिलेको प्रदेश ट्राफिक कार्यालयलाई यस विषयमा विस्तृत रुपमा पूर्ण जानकारी दिन लेखी पठाइएको छ,’ उनले भनिन्, ‘ट्राफिक प्रहरीले जवाफ पठाएपछि सरोकारवाला निकायसँगको समन्वयमा के निर्णय गर्ने भन्नेमा पुगिएला।’

कानुनअनुसार नागरिकता बिना लाइसेन्स जारी गर्न नमिल्ने व्यवस्था त्यति बेला पनि भएको र अहिले पनि त्यही नियम कार्यान्वयनमा छ। इटहरी कार्यालयले नमुनाका रूपमा २/४ वटा लाइसेन्सको पूर्ण विवरण हेर्न धरानस्थित प्रदेश प्रहरी कार्यालयमा पठाएको छ।

लाइसेन्स बाहकहरूले विगतमा सहजै नवीकरण हुँदै आएकोमा अहिले किन नहुने भन्ने प्रश्न गरेपछि आफूले विगतमा के कसरी भयो मैले त्यसको जवाफ दिन नसक्ने उल्लेख गर्दै नेपालले भनिन्, ‘एउटा दुर्घटनाको केस आएपछि सबै डिटेल हेर्दा यस्तो तथ्य पत्ता लागेको हो।’ कानुनले गर्न हुन्न भनेको विषय आएपछि आफूले नवीकरण रोकेको उनले बताइन्।

अहिले १ सय वटा लाइसेन्स नवीकरणमा आउँदा २ देखि ३ वटा लाइसेन्स जारी मितिभन्दा नागरिकता जारी मिति पछाडि भएको पाइएको कार्यालयको भनाइ छ। हाल उक्त कार्यालयले नवीकरण शाखालाई लाइसेन्स जारी भएको मिति र नागरिकता जारी भएको मिति ट्याली गर्न भनेको छ।

यो समस्या उक्त कार्यालयमा मात्र देखिएपनि अन्य कार्यालयबाट जारी भएका लाइसेन्समा समेत समस्या आउन सक्ने देखिएको छ। यसले लाइसेन्सको बेथिति विगतदेखि नै हुँदै आएको देखिन्छ। ट्राफिक प्रहरीले मिलेमतोमा नागरिकता बेगर नै लाइसेन्स दिने गरेको पाइएको हो।

उक्त लाइसेन्सको नवीकरणबारे के हुन्छ भन्ने विषयमा कार्यालय प्रमुखले अहिले आफूसँग जवाफ नभएको बताइन्। यसका लागि ट्राफिक प्रहरी कार्यालयको जवाफ आएपछि विभिन्न निकायहरुको राय अनुसार अघि बढ्ने उनको भनाइ छ।
नेपाल लाईभबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*