‘‘हरेक दिन जिउँदो लास जस्तै बन्थे, दिनमा २५ जना सम्म यौन सम्पर्क गर्न बाध्य पारिन्थ्यो’’

जनपत्र
१७ भाद्र २०७६, मंगलवार ०६:५९

हेटौंडा । मकवानपुकी एक जना महिला भारतिय कोठीमा १५ वर्ष र व्यक्तिको घरमा ५ वर्ष यौन दासीका रुपमा वस्न बाध्य बनाइदाको अवस्थामा भोग्नुपरेका समस्या कुराकानीमा आधारित ।

मकवानपुरको विकट ठाउँमा जन्मिए । अहिले ४६ वर्षको भएँ । आज भन्दा करिव २५ वर्ष अगाडी मलाई धेरै कुरा जानकारी निकै कम थियो । मैले १७ बर्षको नै उमेरमा आमा बुवाको मञ्जुरीमा नुवाकोटको केटा संग मागी विवाह गरे । खासै पढ्न पनि पाइन । अरु कुरा पनि थाहा थिएन । श्रीमान खेतीपातीको काम गर्नुहुन्थ्यो । माइतीमा पनि खेतीपातीको नै काम गर्ने भएकोले म पनि श्रीमान संगै खेती पातीको काम गरेर जिवन यापन गर्दै आएकी थिएँ ।

छोरा जन्मीएपछी श्रीमान बेपत्ता

विवाह गरेको तिन बर्ष पछि मेरो छोराको जन्म भयो । छोरा जन्मेपछि मेरो श्रीमान छोरा र मलाई छोडेर बेपत्ता हुन भयो । म सुत्केरी त्यसमाथी नुवाकोट जस्तो ठाउँमा जसोतसो श्रीमानको बुढी हजुरआमाकोमा बसें । त्यती बेलाको पीडा सम्झदा अहिले पनि निकै चिन्ता लाग्छ । तर, छ महिना सम्म श्रीमानको पर्खाइमा बाटो हेरेर बसे । तैपनि उहाँ आउनु भएन ।

श्रीमान नआउनु भएको हुदा म छ महिनाको छोरा च्यापेर माइती आएर बस्न थाले । माइतीमा नै आएर बस्दा पनि श्रीमान एक दिन अवश्य आउनु हुन्छ भन्ने झिनो आशा चाही मनमा थियो । तर, विडम्बना वहाँको केही पनि सुचना आएन । माइतीमा नै मेलापात गर्र्र्दै छोरा हुर्काउदै बसेको डेढ बर्ष पछि २०४८ साल असोज महिनामा मेरो आफ्नै गाउँको राम बहादुरले म तिमीलाई विवाह गर्छु तिम्रो छोरालाई म आफ्नै छोरा सरह गर्छु भन्ने आस्वासन दिनुभयो । उहाँले पटक पटक फकाएपछि मलाई पनि ठिकै लाग्यो र माइती घरको आर्थिक अवस्थामा पनि कमजोर भएको कारण म दोस्रो विवाह गर्न बाध्य भएँ ।

दोस्रो बिवाह गरेका श्रीमान संग हेटौंडा घुम्न आएपछी ……………

विवाह गरेको केही समय पछि मेरो श्रीमानले मलाई हेटौंडा घुम्न जाउ भनेपछि म छोरालाई माइती घरमै छोडेर श्रीमानसंग हेटौंडा आएँ । हेटौंडा आएपछि मेरो श्रीमानको नातामा मितिनी दिदीकोे घरमा राखेर मेरो श्रीमान कता जानुभयो थाह भएन । मितिनी दिदीको घरमा केही समय बसीयो । केहीदिनपछी मलाई मितिनी दिदी र एक जना अर्को पुरुषले फिल्म हेर्न जाउ भनेपछि म पनि तिनीहरुकै साथ लागेर फिल्म हेर्नको लागी गएँ ।

दुईलाखमा बिक्री गरेर भारत लगे

मलाई बाटोमा चिसो खान दिएको याद छ त्यस पछि के भयो मलाई थाह भएन । म होसमा आउँदा मैले आफुलाई रेलको डिब्बामा पाएँ । मैले म संगै भएका मितिनी दिदी अर्को दाईलाई सोध्दा म कहाँ आएको हो मेरो श्रीमान खै भन्दा उनीहरुले तिमीलाई तिम्रो श्रीमानले २ लाखमा बेचेर गयो भने पछि म छाँगाबाट खसे जस्तै भएँ । उनीहरुले मलाई भारतको बम्बइको कोठीमा लगेर २ लाखमा मलाई विक्री गरेपछि उनीहरु खै कता गएँ । मलाई थाह भएन ।

भारतिय कोठीका १५ वर्ष

म बम्बइको कोठीमा १५ बर्ष बसे त्यो १५ बर्ष मैले कसरी विताएँ, अहिले सम्झदा पनि कहाली लागेर आउँछ । मलाई ज्वरो आउदा मेरो गाउँघरमा मेडिकलको ओषधी नभए पनि हाम्रै गाउँघरमा पाउने जडिबुटी दिएर निको पाथ्र्यो । तर मलाई कोठीमा ज्वरो आयो भन्दा मलाई नाटक गरिस् भनेर कोर्रा लगाउथ्यो । मलाई मनदेखि पिडा हुन्थ्यो आखाँबाट अनायासै आसु झथ्र्यो । तर, आसुमा मलम लगाउने कोही हुदैन थियो ।

नक्कल गरेको भनेर चुरोटको ठुटोले मेरो हातै भरि पोलीदिन्थ्यो । म रुन्थे कराउथे तर, मेरो आवाज सुन्ने कोही पनि हुँदैन थ्यो । नराम्रो काम गर्दिन भन्दा त्यहाँ मेरो चित्कार सुन्ने कोही पनि हुदैन्थ्यो । म भाग्न खोज्थे तर, कहाँ भाग्नु म एउटा विकट गाउँमा जन्मेको त्यो भारतको विशाल सहरको बारेमा मलाई के थाह ? दिक्क लागेर भाग्न खोज्दा चार दिवार बाहेक केही हुदैन्थ्यो । मेरो भाग्य नै यस्तो भनेर बाध्य भएर अरुको सन्तुष्टीको लागी जिउदो लास भइदिन्थे । अनि मेरो शरीरमा आएर मलाई चिथोरेर निचोरेर जान्थे । म विवश भएर सवै कुरा सहन्थे । यसरी नै १५ बर्ष वित्यो बम्बइको कोठीमा ।

कोठीमा वस्दा दीनमा २५ जना सम्म शारिरीक सम्पर्क गर्न बाध्य बनाईयो

यती धेरै सहएँकी हरेक दिन २५ जना सम्म शारिरीक सम्पर्क गर्नुपथ्यो । जस्तो सुकै अवस्थामा भए पनि दैनिक कम्तिामा १२ जना बढिमा २५ जना संग शारिरीक सम्पर्क गर्नुपर्दा धेरै पीडा बोध हुन्थ्यो । जती पीडा भएपनि सुन्ने कोही हुादैनथे । केवल पीडा, आक्रोस, चित्कार पल, पर्खाल, आढ्ने ओच्याउनेलाई मात्र सुनाउन बिवस हुन्थे । कहिले काही त आत्महत्या गरौं जस्तो पनि हुन्थ्यो । तर, छोराको याद र सम्झनाले गर्दा कुनै दिन छोरालाई भेट्छु जस्तो लाग्थ्यो ।

कोठीबाट निकालीयो तर, व्यक्तिको घरमा यौन दासी बनाईयो

एक दिन म बसेको कोठीमा एक जना गुजरात तिर घर बताउने मारवाडी आईरहन्थ्यो र मलाई माया गरेको जस्तो गरेर कोठी मालिक्नीसंग कुरा गरेर म संग विवाह गर्छु भनि किनेर मलाई गुजरातमा उस्को घरमा लग्यो । म पनि विश्वास गरेर उसको साथ लागेर गुजरात गए । तर, उसको घर पुगेपछि बल्ल थाह भयो । उसको श्रीमती छोरा छोरी समेत रहेछ ।

मलाई विवाह गरेर होइन मलाई यौन दासी बनाउनको लागी रहेछ । त्यो मारवाडी यति दुष्ट थियो की जुन सुकै समयमा पनि उसको लागी म यौन दासीको रुपमा तयार हुनपथ्र्यो । तर, पनि एक किसिमले ठिक्क पनि थियो । मेरो लागी किन भने मारवाडीको घरमा मारमाडी मात्र हुन्थ्यो भने कोठीमा कैयौं मानिसहरु ।

यौनदासीका रुपमा वस्दा छोरा संगको भेट

म त्यहाँबाट भागेर पनि आउन सक्दिनथे । म चुपचाप गुमनाम जस्तै भएर आफ्नो जिन्दगीलाई अगाडी बढाउदैं थिएँ । मेरो जिवन यात्रा फिल्म जस्तै छ । जव म बेचिएँ मेरो छोरालाई पनि मामाघरमा बस्न मन नलागेर उ पनि विरगंज, रक्सौल, गोरखपुर हुदै गुजरातमा एक जना भारितय मानिसको घरमा काम गर्न बसेको रहेछ । त्यहाँ कामको साथ साथै विद्यालय पनि भर्ना गरिदिएको रहेछ । यसै विचमा गुजराती साथीसंग सधै आफ्नो छोराको बारेमा कुरा गरिरहन्थे ।

एक दिन त्यहि साथीले मेरो छिमेकीमा एक जना छ उ पनि नेपालको भन्छ, तिमील चिन्छौं भनेर सोध्दा मलाई थाह थियो मेरो छोराको खुट्टमा घाउँ दाग थियो । मलाई त्यो केटा संग भेट गराएपछि मैले सवै कुरा सोध्दा मेरो माइती घरको बारेमा बतायो र खुट्टामा घाउको दाग पनि थियो । मैले म नै तिम्रो आमा हुँ भनेपछि हामी आमा छोरा धेरै बेर अंगालो हालेर रौयौं । अनि मैले मारवाडीलाई भनेर मेरो छोरा पनि मसंगै राखे । मेरो छोराले पढाईलाई निरन्तरता दिएर भारतमा नै कक्षा १२ पास गर्यो ।

छोराको अगाडी पनि मलाइै यौन शोषण गथ्र्यो

म मारवाडीको घरमा ५ बर्ष यौन दासीको रुपमा बसे । त्यस्ले मलाई यति धेरै पिडा दिन्थ्यो की मेरो छोराको अगाडी पनि मलाइै यौन शोषण गथ्र्यो । मेरो छोराले सहन नसकी मारवाडी संग झगडा पनि गरयो । हामी त्यहाँबाट भागेर सालमा नेपाल आयौं । आफ्नो जाने ठाउँ कतै पनि थिएन । माइती गएँ माइती मा त सहजै अपनायो । तर गाउँलेले बम्बई बाट आएको विदेशमा रही बेश्यावृत्ति गरेको भनि समाजमा पटक पटक अपहेलित हुदा पनि जाने ठाउँ कतै नभएर विभिन्न लान्छना सहदै जिवन व्यति त गर्दै आएँ ।

बिक्री गर्नेलाई मुद्धा हालेर २० वर्ष जेल हाले

म गाउँमा हुदा एउटा गैर सरकारी संस्थाले मानव बेचविखन तथा ओसार पसार विरुद्धको कार्यक्रममा भाग लिने मौका पाएँ । त्यो कार्यक्रमा जति पनि कुरा थाह पाएँ मेरो जिवन संग मिल्दो जुल्दो धेरैको समस्या पाएँ । कार्यक्रम सकिएको भोलीपल्ट मैले मेरै अलि टाढाको छिमेकी बहिनीसंग कुरा गरेपछि दिदी यस्ता मान्छेलाई त्यत्तिकै छाड्नु हुन्न सजाय दिनुपर्छ भनेर भनेपछि म त्यहि बहिनीको साथमा एउटा गैर सरकारी संस्था मार्फत मिति २०६९ साल असार २७ गते मलाई विक्री गर्ने तिन जनाको विरुद्धमा मानव बेचविखन तथा ओसारपसार अन्र्तगत मुद्धा दर्ता भयो ।

मुद्धा दर्ता गर्न साथ मेरो नाम मात्रको श्रीमानलाई प्रहरीले पक्राउ गर्यो । यता मितिनि दिदीको मृत्यु भएको थियो भने अर्को हाल नेपालमा नरहेको भन्ने थाह हुन आयो । मेरो श्रीमान पक्राउ परेपछि मलाई एक किसिमको आनन्द आयो । मुद्धा चल्दै थियो म र मेरो छोरा माइती गाउँमा बस्दै ज्यालापानी गर्ने, कहिले काफल टिपेर बेच्दै आफ्नो गुजारा गर्दै आएका थियौं । २०७० साल जेष्ठ ७ गते मेरो मुद्धाको अन्तिम फैसला भयो । मलाई बेच्ने मेरो श्रीमानलाई २० बर्ष कैद र दुई लाख जरिवानाको फैसला सुनाईयो । मलाई राज्यको जिल्ला पुर्नस्थापना कोषबाट क्षतिपुर्ति बापत तीन लाख भराई दिने भनेर फैसला भयो ।

म त्यो दिन सवै भन्दा खुशी भएको दोस्रो दिन थियो भने पहिलो दिन म आमा बन्दा । २० बर्ष कैदले म २० बर्ष नारकिय जिवन व्यतित गरेको समयको केही भरपाई भयो । मुद्धा त फैसला भयो म अनपढलाई केही थाहा मुद्धा पनि तह तह हुन्छ भनेर फैसला त भयो तर क्षतिपुर्तिको रकम अहिले सम्म पाएकी छइन । म पटक पटक बुझ्न नआएकी पनि होइन । तर, कहिले के कहिले हैरान भएँ । कहिले आएको रकम पनि फिर्ता गयो भन्ने । अहिले सम्म म त्यही रकमको पर्खाइमा छु ।

म र मेरो छोराको नागरिकता बनाउन धेरै हैरान खेप्दैछु 

मेरो आफ्नो नागरिकता छैन । मैले बनाउने प्रयास नगरेको पनि होइन । तर, म विवाह गरेर गएको मान्छे उतैबाट बनाउनु भन्छन् । बिवाह गरेको हातल यस्तो छ । आज भन्दा करिव ३० बर्ष अगाडी नुवाकोटबाट मेरो श्रीमान बेपत्ता हुनु भएको वहाँको आफन्त कोही पनि छैन म कसरी जानु ? एक चोटी चाही मलाई बेच्ने श्रीमानबाट पनि नागरिकता बनाउनको लागी सुझाव दिनुभएको थियो । तर, मलाई २० बर्ष नारकिय जिवन विताउन बाध्य बनाउने पशुको नाम जोडिरहन मन लागेन ।

म मकवानपुरमा जन्मेको मेरो बुवाको नागरिकता छ । मेरो छैन म कहाँको नागरिक हुँ म । २० बर्ष सम्म भारतमा बसे म भारतको नागरिक त भइन । मेरो घर नेपाल तर, म नेपाली हुँ भन्ने पहिचान नै छैन । मेरो जसोतसो उमेर आधा भइसक्यो । तर, मेरो छोराको के दोष ? उ पनि पहिचान विनाको जिन्दगी बिताउने ?

मेरो छोराले १२ पास गरेको छ । तर, उसको नागरिता नभएर पढेर पनि जागिर पाएको छैन । उसले पछि विवाह गरेपछि पनि उसको सन्तान पनि अनागरिक हुन्छ ? विडम्बना २०७२ सालको भुकम्प आउनु भन्दा अगाडी उ मलाई एक्लै छाडेर काठमाण्डौं गएको छ । मैले कति खोजे तर उ सम्पर्कमा नै आएको छैन । म हाल ज्यालापानी गरेर आफ्नो जिवन यापन गर्र्र्द आएकी छु । नेपाली भएर पनि पहिचान विनाको नागरिक भएर वसेको छु । म जस्ता हजारौं चेलीहरु बेचविखनको चपेटामा परेका छन् उनीहरुको समस्याको समाधान त सहिजै हुनुपर्ने होइन ?

(माईती नेपाल मकवानपुरकी संयोजक तथा मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्ध संजालको सह–संयोजक माया लामा संग पीडित महिलाले गरेको कुराकानीमा आधारित । बेचिएकी महिलाको नाम र ठेगाना गोप्य राखिएको छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*