हेटौंडा–४ शैक्षिक क्षेत्रमा गुणस्तरियतामा बृद्धी गर्दै वडा कार्यालय

जनपत्र
७ पुष २०८०, शनिबार १८:३१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को कार्यालयले अरु विकास निर्माणका कामसंगै शैक्षिक क्षेत्रलाई पनि निकै महत्वका साथ काम गर्दै आएको छ । अहिले भइरहेको शिक्षामा थप गुणस्तर कायम गर्नका लागि वडा कार्यालयले बिभीन्न शिर्षकमा बजेट छुट्याएर काम गर्न लागेको छ ।

बिगतका वर्षहरुमा पनि शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको भएपनि अझै चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा गुणस्तरियता कायम गर्नका लागि थप काम गर्ने योजना समेत वडा अध्यक्ष नविन सिग्देलले आज आयोजित कार्यक्रममा जानकारी गराए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको असल अभ्यासहरु प्रस्तुति तथा शैक्षिक कार्ययोजना सम्बन्धि छलफल कार्यक्रममा यस वडामा शैक्षिक गतिबिधीहरु बढाउँदै यस क्षेत्रमा बजेट पनि पर्याप्त छुट्याएर काम गरिएको बताए ।

वडा भित्र रहेका ३ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयका शिक्षकहरु, शिक्षाविद, शिक्षाविकास महाशाखा प्रमुख, वडा सदस्यहरु र विद्यार्थी लगाएतको उपस्थितिमा शैक्षिक छलफल कार्यक्रम भएको हो ।

शैक्षिक क्षेत्रको विकासमा सधैं अग्रसर रहने वडा अध्यक्ष नवीन सिग्देलले वडाको लागि विनियोजन भएको मध्ये ३३ प्रतिशत बजेट शिक्षामा छुट्याइएको बताए । ‘४ नं. वडा मकवानपुरको शैक्षिक केन्द्र हो । यहाँ स्थानीय मात्र विद्यार्थी छैनन् । मधेशका विद्यार्थीहरुपनि यहाँ धेरै छन् । भावनात्मक मात्र नभएर राष्ट्रिय एकता पनि यहाँ जोडिएको छ ।’ सिग्देलले बताए ।

आज भएको शैक्षिक कार्ययोजना सम्बन्धि छलफल कार्यक्रममा वडाका ८ वटा विद्यालयहरुले पालैपालो आफनो विद्यालयमा भएका शैक्षिक प्रगति , विद्यालयले गरेका अतिरिक्त क्रियाकलाप तथा विद्यालयको समस्या र चुनौतीहरु प्रस्तुत गरेका थिए ।

शैक्षिक क्षेत्रको विकासमा लम्किरहेको मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा मात्रै झण्डै १६ हजार विद्यार्थीहरु छन् । हेटौंडाका १९ वटा वडा मध्ये ३ वटा सामुदायिक र ५ वटा संस्थागत गरी ८ वटा स्कुलहरु यसै वडामा रहेका छन् ।

केहि समय अगाडी मात्र गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको हेटौंडा क्याम्पस पनि यस वडामा अवस्थित छ । पटकपटक उत्कृष्ट नतिजा लेराएर छुट्टै पहिचान बोकेको आधुनिक राष्ट्रिय मा.वि, आमसाइ स्कुल, श्रमिक मा.वि, भुटनदेवी मा.वि, नवोदय शिशु सदन मा.वि, ब्रह्मदिक एकेडेमी, सत्यम जेभियर्स मा.वि, र रोज एकेडेमी यस वडाभित्र रहेका छन्।

शिक्षा क्षेत्रमा सधैं अग्रसर रहने यस वडाले थुप्रै शैक्षिक गतिविधिहरु गर्दै आइरहेको छ । गतबर्ष सामुदायिक तथा संस्थागत विद्यालयवीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले यस वडा कार्यालयले शैक्षिक मेला आयोजनामा गरेको थियो ।

वडाभित्र रहेका विद्यालयहरुको शैक्षिक प्रगति,शिक्षा क्षेत्रमा आईपर्ने समस्या समाधान र शैक्षिक पृष्ठपोषणका निम्ति ४ नं. वडाका वडा अध्यक्ष नवीन सिग्देल लगाएत वडा भरीका शिक्षक र सरोकारवालाहरुको छलफलमा गतबर्षको मंसिर २६ गते शैक्षिक गुणस्तर सुधार समिति गठन गरिएको हो ।

सामुदायिक विद्यालय र संस्थागत विद्यालयको सम्बन्ध प्रगाढ बनाउने, शिक्षक तालिम र अन्र्तक्रिया कार्यक्रमहरु सञ्चालनमा ल्याउने, वडा स्तरीय खेलकुद तथा शैक्षिक मेला प्रर्दशनी गर्ने, तथा वडा भित्रको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्ने जस्ता क्रियाकलापहरु यस समिति निर्माण पश्चात भईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*