हेटौंडाकी हस्तकलाकी हस्तीः पाँच हजारबाट सुरु गरेको व्यवसाय अढाइ करोडको पुग्यो
हेटौंडा / हेटौंडाको हटियाकी कमला सुवेदी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभाग सदस्य हुन्। तर, उनको परिचाय यतिमै सिमिति छैन।
बाल्यवस्थाबाटै सिर्जनात्मक काम गरिरहन खोज्ने र व्यस्त रहन खोज्ने कमलाका हातले यतिवेला हजारौं हातलाई व्यस्त बनाएका छन्। उनले उद्यम सिकाएर थुप्रैलाई व्यस्त बनाइदिएकी छन्।
गत मंसिरबाट ललितकला प्रज्ञा प्रतिष्ठनको हस्तकला विभाग सदस्य मनोनित भएकी कमलासँग अबको पाँच वर्ष हस्तकला क्षेत्रमा भेरै काम गर्ने सपना छन्। महिलाका लागि राज्यले दिएको सेवा सुविधालाई राज्यको कुनाकाप्चासम्म पुर्याउने मुख्य लक्ष्य छ उनीसँग। जुन कामको थालनी गरिसकेकी छन् क्रिस्टलको गहना बनाउने तालिमबाट।
अण्डाको क्रेटदेखि क्रिस्टलको गहनासम्म
कमला वाल्यकालमै हुँदाको कुरा, बुबा आमा (भगवती र रामचन्द्र अर्याल) को दैनिक उपभोग्य बस्तुको होलसेल पसल थियो।
उहाँहरू अण्डा बेच्नुहुन्थ्यो र खालि क्रेट फाल्नु हुन्थ्यो। कमला तिनै फालिएका क्रेट बटुल्थिन्। त्यसमा आकार दिन्थिन्। रङ भरेर झनै लोभलाग्दो बनाउँथिन् र कोठा सजाउँथिन्।
अरुले कोक खाएर फालेका सिसिहरू बटुलेर त्यसै गर्थिन्। ‘अक्षर लेख्ने कलिला हातहरू अक्षरको आकार त सिक्दै गए, सँगै सजावट समाग्रीहरूको आकारमा दिनमा पोख्त बन्दै आए,’ उनले भनिन्। स्कुलबाट फर्केपछि आमा बुबालाई पसलमा सघाउँथिन्, साँझ आफ्नो गृहकार्य, अनि बचेको समय खेर गएका समाग्रिबाट सजावट बनाउनु उनको दैनिकी नै थियो। धेरै सिकौं धेरै गरु भन्ने हुटहुटी मनमा चलिरहेको बेला विवाहपछिको नयाँ घरले उनको रुची केही खुम्चियो।
१६ वर्षकै उमेरमा विवाह भयो। विवाहपछिको जीवन कस्तो होला। फालिएका सामग्रिहरू बटुलेर रङ र आकार दिने कमलाको जीवनले पनि आकर्षक आकार र नौरङ्गी रङ पाउला त ? उनमा यस्तै पिरलो हुन थाल्यो। हर समय केही न केही गर्न नपाए उनमा छटपटी हुन्थ्यो। बाल्यवस्थामै विवाह भएकाले उनलाई नयाँ घरमा घुलमिल हुन समय लाग्यो।
जीन्दगी फूलाउन त पर्खनुको सिवाय उपाय पनि त थिएन। विवाहको लगत्तै उनी आमा बनिन्। घरमा आमा (सासु) लाई सिलाई सिक्न जाने इच्छा प्रकट गरिन्।
हेटौंडाबाट विवाह भएर हटीया (मकवानपुर) पुगेकी कमलाले विवाह अगाडि सिकेको सिलाई पुरा गर्ने अभिलाषा प्रकट गरिन्। परिवारको समर्थनपछि त्यसले निरन्तरता पायो। शहरी जीवनशैलीमा हुर्केकी कमलालाई बजारबाट १३ किमि पर पुग्दा साह्रै गाउँ पुगेको आभाष भयो। घरबाट सिलाईको लागि हिडेकी कमलालाई राजदेवी र हटीयाको बीचमा पर्ने खोलाले बगायो। उनीलाई माझिले बचाए। यो घटनाले उनलाई झनै अगाडि बढ्ने साहस थपियो।
नाफामा पाएको जिन्दगी, केही गरु भन्ने लाग्यो। खोलाले बगाएर आफूलाई माझिले बचाएको कुरासमेत घरमा बताइनन्। कारण परिवारले भोलिबाट खोलापारी सिलाइका लागि नपठाउलान् भन्ने डर थियो उनमा। यता पसल र सिलाइमा व्यवस्थ राम्रो हुँदैगर्दा उता छोराहरू पनि हुर्कदै थिए। छोराहरूको पढाइकै क्रममा काठमाडौं पसिन् उनी। सन्तानका लागि राम्रो शिक्षाको खोजिमा काठमाडौं हानिएकी कमलाले आफ्नो जीवनको सुनौलो अवसरपनि उतै भेटिन्। काठमाडौंमै क्रिस्टलको गहना बनाउने सीपको विजारोपण भयो उनको जीवनमा।
क्रिस्टल गहना अभियानमा उदय
कमलाले सन् २०११ मा युवा भेलाका लागि बंगलदेश जाने मौका पाइन्। पिसफूल काउन्सिलले उनलाई बंगलादेश भिजिटमा लग्यो। त्यहाँ उनले क्रिस्टलका गहना बनाएको देखिन्।
कमलाको लागि त्यै दिन आजपनि अगाडि बढ्ने दरिलो आधार बनेको छ। बंगलादेशका दिदीबहिनीहरूले बनाएको क्रिस्टलको हयाण्डब्याग, गहनाहरू अति नै आकर्षक देखिएपछि त्यसैले मन तान्यो उनको। त्यहाँ देखेको क्रिस्टलको पोते (माला) को डिजाइनले उनलाई यति तान्यो कि भ्रमणका लागि पुगेकी उनी साथिहरूसँग घुम्न छाडेर सीप सिक्न थालिन्। आफूसँगै ६ सयजनाको समूह थियो। ५ सय ९९ जनाले घुमेर मज्जा लिँदै गर्दा उनी सबैसाथिहरूसँग छुट्टिएर क्रिस्टलको गहनामा डिजाइन भर्दै मज्जा लिन थालिन्। ३ महिनाको कोर्स भिषाको समय थोरै भएकोले १० दिन सिकेर फर्कनु पर्ने बाध्यात्मक अवस्था आइलाग्यो उनलाई।
बिहानदेखि बेलुकासम्म लगातार सिकाइमा आफूलाई लगाइन्। त्यहाँको प्रचालन अनुसार दिनमा १ घण्टाभन्दा बढी कक्षा सञ्चालन हुने थिएन।
तर, उनले आफ्नो बाध्यता रुचिको बारेमा बताएपछि बिहानदेखि बेलुकीसम्म लगातार सिक्ने अवसर पाइन्। ३ महिनाको कोर्ष १० दिनमै सकिन्। लगातार सिकाई हुदाँ कुनै थकान महसुस भएन बरु, दिन घर्किदै जाँदा अझै धेरै सिक्नु छ, समय छैन भन्ने छटपटी आफूमा हुने गरेको सुनाइन उनले।
राति पनि एक/दुई घण्टा सिकौं की भन्ने लाग्यो उनलाई। त्यसपछि नेपाल फर्केर उनले घरेलु विकास समितिमा प्रस्ताव राखेर क्रिस्टलका गहना बनाउन अरु महिलालाई सिकाउन थालिन्। उद्योग मन्त्राल र घरेलु तथा साना उद्योग विकास समितिले यही डिजाइन पुस्तिका प्रकाशनको लागि एम महिनासम्म योगदान गर्ने मौका पाइन्। त्यो मौका झन् हुर्कदो विरुवालाई मलजलको काम गर्यो। उनको सीपलाई यो पुस्तिकाले देशभर चिनायो।
उनी क्रिस्टल गहनाको डिजाइनको रुपमा विशषज्ञता बढ्दै गयो। देशभित्रमात्रै हैन उनको डिजाइनको माग बाहिरी देशबाट पनि हुन थाल्यो। तालिमको लागि उनलाई भ्याइनभ्याई हुन थाल्यो।
हजारौं डिजाइन
४७ वार्षिय कमलासँग क्रिस्टल गहनाको डिजाइन सयको संङख्यामा हैन, हजारौंको सङख्यामा छ। उनी हजारौं डिजाइन गर्न सक्छिन्। आफ्नै दिमागले मार्केटको माग पढ्छ, नयाँ डिजाइन बनाइहाल्छिन्। क्रिस्टलका गहनामा नयाँ-नयाँ डिजाइन उतार्ने अद्भुत क्षमता छ उनीमा।
देशभित्रमात्रै हैन उनको डिजाइनको माग बाहिरी देशबाट पनि हुन थाल्यो। तालिमको लागि उनलाई भ्याइनभ्याई हुन थाल्यो।
उनले महिलालाई स्वरोजगार बनाउन युनिक हस्तकला उद्योग दर्ता गरिन् अनि महिलालाई सीपको भोग जगाउन थालिन्।
त्यसको लागि युवा स्वरोगजार कोषले केही आर्थिक सहयोग गर्यो। त्यो तालिम नै उनको सीपको विरुवा रोपेको पहिलो बाली हो। अहिलेसम्म उनले २३ हजार महिलालाई आफ्नो सीप बाँडेर स्वरोजगार बनाएकी छन्। धेरै जिल्लामा धेरैजसो त प्रशिक्षक नै बनेका छन् उनका विद्यार्थीहरू। देशको विभिन्न स्थानमा उद्यमी मेला लाग्दा उनीबाट सीप सिकेर उद्यमी बनेर मेलामा पुगेका महिलाहरूले आफ्नो स्टल उत्कृष्ट भएको खबर फोनमा सुनाउँदा कमलालाई औधि सन्तुष्टि मिल्छ। ‘म आफैं अरुको भरमा बाँच्नु पर्लाकी भन्ने अवस्थाबाटमाथि उठेर आज धेरै युवा महिलाहरू, गृहेणी महिलाहरूलाई आत्म निर्भर बनाउन सकेकोमा हर्षित छु’, उनले भनिन्।
उबेला ५ रुपियाँ नदिनेले अहिले लाख दिन्छन्
महिलामाथि हुने यावत प्रकारको हिंसाको जड आर्थिक कारण हो भन्ने उनको ठम्याइ छ। आर्थिक रुपमा कुनै महिला सम्पन्न छ भने उनलाई उसको घरमा कसैले पनि हिंसा गर्दैन। उनैले पनि आर्थिक समस्याको कारण धेरै पीडा भोगेको अनुभव छ विगतको।
छोराको खुट्टा भाँचिदा पाँच रुपैयाँ नदिने मान्छे अहिले लाखौं दिन तयार भएको अनुभव सुनाउँछिन् कमला। अब अहिलेको अवस्थमा त्यस्तो व्यक्तिको पैसा कारोवारमा लगाउन चाहन्न उनी। महिला सक्षम छ, उसको हातमा सीप छ, २/४ पैसा घरको लागि दिनसक्छ र आफ्ना लागि श्रीमान् र परिवारबाट पैसा माग्न परेन भने महिलालाई कसैले हेप्न सक्दैन् भन्ने उनको बुझाइ छ।
देशभरबाट २३ हजार महिलालाई आफूले सीप सिकाउँदै गर्दा ति महिलाहरूले आफ्नो सीपबाट आर्थिक उपार्जनपछि बाँडेको खुशी, उनलाई देखाउने आत्मियताभित्र आर्थिक सशक्तिकरणकै कुरा जोडिएर आएका छन्।
घरेलु हिंसाबाट प्रताडित भएका सीप सिक्न आउँदा पनि हजार गाली र हण्डर खाएर, लुकीलुकी सीप सिक्न आउने महिलाहरू पनि विस्तारै आत्म निर्भर भएका छन्। आफ्नो भान्छामा दाल सिठ्ठी लाग्दै गर्दा २ वटा माला तयार गर्दछन् ति महिलाहरू। छोराछोरी स्कुल पठाएर, श्रीमान काममा निस्केपछि घरधन्दा सकेर २ घण्टा बस्दा तयार हुने क्रिस्टलका गहनाले महिलालाई आफ्नो खर्चको जोहो मात्रै हैन, परिवारको सानातिनो खर्चमा भरथेक दिन थाल्छ। अनि तिनै हिजोका दिनमा ‘सीप किन सिक्नु पर्यो’ भन्ने सदस्यहरूले उनको सीपको प्रशंसा गर्न थालेको धेरैका अनुभव उनीसँग छन्।
बुहारीबाट प्रभावित सासु
कामलाले घरमा खेर गएको सामग्रिबाट बनाएका सजावटका सामानले जब देशभर चर्चा कमाउन थाल्यो। उनकी सासुआमा पनि प्रभावित भइन्। सासु आमाले बुन्ने सुकुल चकटी, गुन्द्री, टपरीहरूलाई कमलाले हस्तकला उद्योगमा सम्पर्क गराइन्।
कमलाकी ८० वर्षीय सासुआमा हस्तकलासंघबाट सम्मानित भइन्। हिजो र आज सासु बुहारीबीचको मायामा निकै फरक छ। बुहारीको प्रगतिमा सासुआमाको हाँसो मिसिएको देख्दा कमलापनि खुशी छिन्।
चिनबाट कच्चा समान चिनमै खोसाखोस
क्रिस्टलको गहनाको लागि चिनबाट कच्चा समान ल्याउने गरिन्छ। तयारी अवस्थामा पठाउँदा चिनै धेरै राम्रो मूल्यमा विक्रि हुन्छ। ललितकलाले बल्ल बुझेको छ, यसको महत्व। यो सीप धेरै सजिलो पनि छ। महिलाहरू आफू पनि सुरक्षित, घाम पानी भोग्नु नपर्ने, घरको काममा असर नगर्ने, मात्रै टिभिमा सिरियल हेरेर बस्ने समय कटाउँदा पुग्छ भन्छिन् कमला।
चुनौति नै चुनौति
जहाँपनि खुट्टा तान्नेहरू बढी छन्। प्रगति गर्नेको खुट्टा तान्दैमा प्रगति नरोकीने उनको बुझाइ छ। उनले सिकाएका विद्यार्थीहरूको सीप जाँचेर विभिन्न जिल्लामा प्रशिक्षक राखेकी छन्। ‘मलाई खाना खाने फुर्सद पनि छैन, सबै तिर भ्याउँदिन अनि के गर्नु’ उनी भन्छिन्, ‘सबैले अवसर पनि पाउनु पर्छ।’ सोचे भन्दा जीन्दगी बढी व्यस्त बनिदिँदा उनी दंग छिन्।
सीप सिकेका महिलाहरुको उत्पादनले बजार सहजै पाओस भनेर उनले आफैं स्वरुम खोलेकी छिन काठमाडौं कलंकीमा। जहाँ हस्तकलाका सबै प्रकारका सामान छन्। क्रिस्टलका सामानहरू, ढाकाका समानहरू, हुम्ला-जुम्लादेखिका विविध हस्तकलाका उत्पादनहरू उनको कलंकीस्थित स्वरुममा पाइन्छ। स्वरुम हेटौंडामा पनि राख्ने तयारीमा छिन् कमला।
५ हजारबाट सुरु गरेको हस्तकलाको उद्यम ३ करोड पुग्दै
कमलाले महिलाको आत्म निर्भरताको लागि तालिम मात्रै दिएर छाड्ने गरेकी छैनन्। तालिमपछि महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि पनि उत्तिकै सहयोग गर्छिन् उनी। देशका विभिन्न स्थानमा हुने मेला/महोत्सवमा स्टल राख्छन् महिलाहरूले। त्यसको अलवा उनैको स्वरुमका लागि पनि सामग्री लिने गर्छिन कमला।
‘यो व्यवसाय ५ हजारबाट सुरु गरेको हुँ अहिले अढाई करोडभन्दा माथि पुगेको छ,’ मकला भन्छिन्, ‘आँट्दा नहुने केही छैन।’ उनको जेठो छोरा जापानमा आइटी पढ्दैछन्। अर्को काठमाडौंमा। उद्यमका लागि लागेपछि विभिन्न निकायबाट पुरस्कार र सम्मानहरू पनि थुप्रै थापेकी छन् कमलाले। जसले उनलाई अगाडि बढ्न थप उर्जा प्राप्त हुन्छ।
५६ वटा सीपकी खानी
कमला सुवेदी क्रिस्टलका गहनामा मात्रै डिजाइन भर्दिनन्। क्रिस्टल गहनामा हजारौं डिजाइन भर्ने खुबि भएकी कमलासँग अन्य ५६ वटा सीप छन्। फोहोरलाई मोहोरमा कन्भर्ट गर्ने सीप छ उनीसँग। घरबाट निस्कने कसिङ्गलाई पनि उनी श्रृंगार समाग्री बनाउँछिन्। यो सबै सीपको नै कमाल हो। कागजको झम्कालगायतको कस्मेटिक सामग्रि बनाउने सीप छ। ढाकाका जुक्ताहरू, कपडाको सिलाई, काठका फोटो फ्रेमहरू इत्यादी ५६ वटा सीप सिकाउन सक्छिन् उनी।
‘हामी जन्मेको खानमात्रै हैन, हामीले आट्यौ भने नसक्ने केही छैन। समय व्यवस्थापन गर्नुपर्छ। खेर गएको चिजबाट हजारौं समाग्री बनाउन सकिन्छ’ उनी भन्छिन्, ‘आर्थिक रुपमा महिला सशक्त हुँदा श्रीमानको आर्थिक भार कम हुन्छ, त्यसपछि जस्तोजुकै महिलाले पनि घरमा माया पाउन थाल्नेछन्।’
आपसी सल्लाहबाट समस्याको निचोड निकाल्न सकिन्छ। उनको सन्देश/सुझाव महिलालाई यो छ की, ‘महिलालाई समय भयो कि टिभि हेरेर भावुक भएर बस्ने परिपाटी त्याग्नै पर्छ। उद्यमी बन्छु, आफ्ना लागि आफैं केही गरेर बाँच्छु भनेर सोच्नुपर्छ, विकल्प हजारौं छन्, सबै सम्भव छ।’ नेपाल न्युजबाट साभार ।