कंगोमा इबोलाबाट दुई हजारको मृत्यु
डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको प्रकोपबाट एक वर्षमा कम्तीमा २ हजार जनाको ज्यान गएको बताइएको छ ।कंगोका स्वास्थ्य अधिकारीले गत वर्षको अगस्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि २ हजार कंगोलीको ज्यान गएको जनाएका छन् । उनीहरूका अनुसार उक्त प्रकोपबाट संक्रमित हुनेको संख्या ३ हजार थियो । तीमध्ये २ हजारको उपचारका क्रममा ज्यान गएको अधिकारीले जनाएका छन् ।
बिहीबार कंगोको स्वास्थ्य मन्त्रालयले प्रकाशन गरेको स्वास्थ्य बुलेटिनमा दिइएको जानकारीअनुसार सो संक्रमणबाट २ हजार ६ जनाको ज्यान गएको छ । तीमध्ये १ हजार ९ सय १ जना उक्त इबोला संक्रमित नै भएको प्रमाणित भएको थियो । उक्त संक्रमण कंगोको उत्तरी किबु प्रान्तमा अगस्ट २००१८ मा देखा परेको थियो । पछि सो प्रान्त हुँदै कंगोको इतुरी प्रान्तमा सो प्रकोप फैलिएको थियो ।
स्वास्थ्य अधिकारीले उक्त संक्रमणबाट प्रभावित ९ सय २ जना भने उपचारपछि निको भएको जानकारी दिएका छन् । अस्पतालमा राखी लामो समयसम्म गरिएको उपचारबाट ९ सय २ जना बिरामी निको भएको उक्त स्वास्थ्य बुलेटिनमा जनाइएको छ । यो संक्रमणको नाम इबोला उत्तरी कंगोको एक नदीको नामबाट राखिएको बताइन्छ ।
उक्त नदी क्षेत्रमा यसबाट संक्रमित बिरामी सन् १९७६ मा फेला परेका थिए । यो संक्रमणबाट अफ्रिकी देशबाट हजारौं नागरिकको ज्यान गएको छ । अफ्रिकी देशमा केही वर्षदेखि यसको प्रकोप नराम्रोसँग फैलिएका् समाचार सार्वजनिक
भएका छन् । यस संक्रमणबाट गुएना, सियरा लियोन, लाइबेरियामा धेरै मानिसको ज्यान गएको छ । सन् २०१४ मा यो संक्रमणले धेरै नागरिकको ज्यान लिएको थियो ।
सन् २०१४ देखि सुरु भएको यस संक्रमणबाट दुई वर्षमा नै कम्तीमा पनि ११ हजार मानिसको ज्यान गइसकेको बताइएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई महामारीका रूपमा घोषणा गरेको थियो । विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य क्षेत्रकै संकटकालका रूपमा घोषणा गरेको थियो ।
उक्त संगठनको पहलमा खोपको विकास गरी पछि प्रभावित देशका कम्तीमा पनि २ लाख मानिसलाई इबोलाविरुद्धको खोप लगाइएको थियो । अहिले पनि ती देशमा यो संक्रमण जनस्वास्थ्यकै एक प्रमुख समस्याका रूपमा छ र ती देशका सरकारले इबोलाविरुद्ध विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गर्दै आएका छन् ।