१३औं सागको हेटौंडामा गरिएको तयारी सकियो, कुस्तीका २८ खेलाडी छानिए

हेटौंडा । १३ औं सागका लागि कुस्ती खेलको बन्द प्रशिक्षणमा सहभागी ४० मध्ये २८ जना खेलाडी दोस्रो चरणका लागि छनोट भएका छन् । छनौट भएकाहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बधाई समेत दिनुभयो । सागमा बिजयी प्राप्त गर्नका लागि समेत शुभकामना दिनुभएको छ । छनौट भएका खेलाडी सबैलाई उपमहानगरपालिकाले जर्सी प्रदान गरेको छ ।
शनिबार भएको छनोट प्रतियोगिताबाट १२ जना बाहिरिएका हुन्। देशभरबाट छनौट भएका कुस्ती खेलाडीहरु एक महिनादेखि हेटौंडामा बन्द प्रशिक्षणमा थिए। बन्द प्रशिक्षणमा सहभागी २०जना पुरुष र २० जना महिला मध्येबाट १४–१४ जना छनोट गरिएको नेपाल कुस्ती संघका केन्द्रीय कोषाध्यक्ष जब्स खानले जानकारी दिए।
जारी बन्द प्रशिक्षणबाट छनौट भएका ७–७ जना महिला र पुरुष खेलाडीले १३औं सागमा विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ। प्रमुख प्रशिक्षक ब्रह्देव प्रसाद यादवको नेतृत्वमा ५ जना प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन्। यस बन्द प्रशिक्षणमा १२औं सागमा प्रतिस्पर्धा गरेका १ महिला र ५ पुरुष खेलाडी पनि सहभागी छन्। नेपालले चौथो सागदेखि पुरुषतर्फ कुस्ती खेलमा सहभागिता जनाइरहेको छ। बाह्रौं सागबाट महिलातर्फ पनि कुस्ती खेलमा नेपालले सहभागिता जनाउँदै आएको छ।