हेटौँडामा जारी एसियाली बुद्धिचाल : भारतीय र बङ्गलादेशी खेलाडी उपाधि नजिक

जनपत्र
१७ मंसिर २०८०, आईतवार ०६:५८

हेटौँडा। हेटौँडामा जारी हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा शनिबारसम्म आइपुग्दा भारतीय सुभयान कुण्डु र बङ्गलादेशी मिनहाज उद्दिन प्रतियोगितामा अग्रता लिँदै उपाधि उन्मुख रहनुभएको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार यहाँ भएको सातौँ चरणको खेलमा भारतीय  २३९३ रेटेड शीर्ष खेलाडी सुभयानले भारत कै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा  सेतो गोटीबाट खेल आरम्भ गर्नुभएको थियो । उक्त खेलमा राहुलले छैटौँ चाल अन्तर्गत बिसप डी सिक्स चाल्दै सानो गल्ती गर्न पुग्दाको लाभ लिँदै सुभयानले सोह्र चालभित्र चाँडो खेल आफ्नो पक्षमा लिन सफल रहनुभयो ।

सुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अङ्कका साथ अग्रस्थान बनाउनुभएको छ । आठौँ चरणको खेलमा उहाँले बङ्गलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नु हुने छ । यस प्रतियोगितामार्फत ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आईएम उपाधि प्राप्त गर्ने लक्ष्य रहेको सुभयानले बताउनुभयो ।

यस्तै शनिबार नै भएको दोस्रो बोर्डमा २२१७ रेटेड बङ्गलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जीत हासिल गर्दै ६ अङ्कका साथ संयुक्त अग्रस्थानमा उभिन सफल हुनुभयो ।

आईएम  मिनहाजले ओपन सिसिलियन भारिएशन इ फो सी सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल सुरु गर्दै ४२औँ चालमा चलाखी गर्दै पाउन अप गर्नुभएको थियो । उपाधिका लागि जित्नै पर्ने आठौँ चरणको अर्को खेल उहाँकै समकक्षी बङ्गलादेशी एफएम सरिफ होसेनसँग कालो गोटी लिएर खेल्ने हुनुभएको छ ।

नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधान, हेटौँडा चेस क्लबको व्यवस्थापन, नेपाल खेलकुद महासङ्घको आयोजना र मकवानपुर बुद्धिचाल सङ्घको सहआयोजनामा भइरहेको प्रतियोगितामा बङ्गलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रीत सीँ, बङ्गलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेख नासिर ५.५ अङ्क जोड्दै सामूहिक दोस्रो स्थानमा सुरक्षित रहन सफल हुनुभएको छ ।

आठौँ चरणको खेलमा नयन हकले अबु शेखसँग, अमरदीपले अर्बिन्दर प्रितसँग, नासिर शेखले सुभयानसँग र सरिफ होसेनले मिनहाजसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले प्रतियोगितामा एरिना आईएम सुश्रुत दाहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अङ्क बनाएर नेपाली खेलाडीमध्येबाट अग्रस्थान बनाउन प्रतिस्पर्धा गरिरहनुभएको छ ।

साथै पूर्व नेपाल च्याम्पियन एफएम  पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठले समान चार अङ्क प्राप्त गर्नुभएको छ ।

यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अङ्कका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनी रानासिंघे ४ अङ्क बनाई दोस्रो स्थानमा रहनुभएको छ । नेपालका भेट्रान खेलाडी मोहन सीँ प्रधानले ३ अङ्क जोड्नुभएको छ ।

आइतबार समापन हुने प्रतियोगिताको कूल पुरस्कार राशि पाँच ८७ हजार पाँच सय रुपियाँ रहेको छ । टप १५ खेलाडी, सर्वोकृष्ट महिला, वेस्ट लोकल, वेस्ट भेट्रान, यूथ-१०, यूथ-१२, यूथ-१४, यूथ-१६, यूथ-१८, वेस्ट अनरेटेड र १५००, १७००, १९०० मुनिका रेटेड खेलाडीहरू गरी ३८ जना प्रतियोगितामा सहभागी विजयी खेलाडीलाई पुरस्कार वितरण गरिने जानकारी मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो । गोर्खापत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*