हेटौंडामा एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु
हेटौंडा । मकवानपुरको हेटौंडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेश खेलकुद विकाश परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटनमा संघका केन्द्रीय महासचिव धरम लामा, उपमहासचिव भोनालिसा खम्बु, प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की उपस्थिती थियो ।
मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ८६ जना खेलाडीले सहभागिता रहेको आयोजक मकवानपुर जिल्ला बुद्धिचाल संघले जनाएको छ ।

प्रतियोगिताका विजेताले एक लाख २५ हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार र पाँचौँ हुनेले २० हजार रुपैयाँ जित्नेछन् । यस्तै छैठौंँदेखि दशौँं स्थानसम्मका प्रत्येक प्रतियोगिले १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीयलगायत विभिन्न विधामा ३८ जना खेलाडीले नगदसहित पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए । स्वीस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगिता आयोजना गर्नका लागि करिब ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।







