पुराना टायर बटुल्दै, नयाँ जीवन दिँदै

जनपत्र
१३ भाद्र २०७६, शुक्रबार ०५:५१

श्याम बजगाईं खासमा जागिर खान जापान जान चाहन्थे । उनले एउटा एनजिओमा काम गरिरहेका थिए । श्यामले जापानी भाषा पढेको छ र पासपोर्ट बनाएको छ भन्ने कुरा अफिसमा थाहा भयो । उनी प्रोसेसिङको अन्तिम तयारीमा थिए । त्यही बेला उनको अफिसमा तलब बढ्यो । ‘गरे नेपालमै पनि हुन्छ नि,’ श्यामले त्यति बेला सम्झिए, ‘ह्या, जान्नँ जापान ।’त्यसपछि उनी नेपालमा नै केही क्रियटिभ काम गर्न अगाडि बढे ।  त्यसैको फलस्वरुपः जन्मिएको हो, ‘जरा ग्रुप’ ।

त्यही जरा ग्रुपले विभिन्न काम गर्न सुरु गर्यो । अनेक कामहरुमध्ये जरा ग्रुपले पछिल्लो समय सुरु गरेको काम हो पुराना र फालिएका टायरलाई बटुलेर नयाँ जीवन दिने । र, यो कामका लागि श्याम र उनको टिमले बनाएको ‘प्रोजेक्ट’ हो– भिन्टेज ।

भिन्टेजले पुराना टायरहरु बटुल्छ । सरसफाइ गर्छ, रंगरोगन गर्छ, नयाँ मोडिफिकेसन गर्छ अनि नयाँ फर्निचर बनाउँछ । कलात्मक यस्ता फर्निचरहरु अहिले भिन्टेज विभिन्न ठाउँमा बेचिरहेको छ । ‘आम्दानी पनि राम्रै छ,’ केही दिनअघि बानेश्वरमा भेट्दा श्याम मुस्कुराए ।  ‘यस्तो पनि गर्ने कि भन्ने मैले दुई वर्षअघि नै सोचेको थिएँ,’ श्यामले भने, ‘यसबारे अध्ययन गर्दागर्दै दुई वर्ष बितिहाल्यो । अहिले त हाम्रो प्रोडक्ट बजारमा जान थालिसकेको छ ।’

बजारमा टायरका नयाँ प्रोडक्ट जान थालेपछि उनीहरुको माग बढ्दो छ । त्यसैले भिन्टेजमा अहिले पाँच युवा काम गरिरहेका छन् । उनीहरु दैनिक टायर बटुल्छन्, धोइपखाली गरि सरसफाइ गर्छन् । अनि ग्राहकको डिमान्डअनुसार ती टायरहरुमा सामान्य मोडिफिकेसन गर्छन् ।  ‘पहिले त सडकमा यत्तिकै फालेका टायर फालेर ल्याएर काम गर्थेँ,’ श्यामले भने, ‘अहिले त पुराना भए पनि टायरहरु किनेर ल्याएर नयाँ फर्निचरको मोडलका रुपमा डेभलप गर्न थालिएको छ ।’

टायरबाट बन्ने फर्निचरको साइज खासमा डिमान्ड वा स्पेसअनुसार हुँदैन । बरु टायरको साइज कत्रो छ भन्नेले केकस्ता फर्निचर बनाउने भन्ने निर्धारण गर्छ । अहिले त भिन्टेजले किताब राख्ने र्याकदेखि डाइनिङ टेबल, घडी तथा अन्य सजावटका सामाग्री बनाउन टायरको प्रयोग गर्न थालिसकेको छ । पहिले पच्चिस प्रकारका प्रोडक्ट बनाउने भिन्टेज अहिले ५० प्रकारका प्रोडक्ट बनाउने कम्पनी भइसकेको छ ।

जे होस्, यो काम गर्न थालेपछि श्यामले बजारबाट अनेक प्रतिक्रिया पाउन थालेका छन् । ‘एकथरि व्यक्तिहरु छन्, चाइनामा बनेको हो भने फ्याट्टै किनिहाल्छन्,’ उनले भने, ‘तर, नेपालमा बनेको हो भने पछि उनीहरु नक खुम्चाउँछन् । अझ टायरबाट बनेको हो भन्ने उनीहरुलाई थाहा भयो भने उनीहरु अचम्ममा पर्छन्, अनि जुनसुकै सामान पनि महंगो भयो भन्ने निष्कर्ष निकाल्छन् ।’ श्यामले अनभुव गरेका छन्, केही व्यक्तिहरुले भने ओहो, टायरका सामान भनेर पनि किन्ने गरेका छन् ।

‘बजारमा धेरै क्याफे जन्मिएका छन्,’ श्यामले भने, ‘टायरको डिजाइनले बनेका फर्निचर पनि ती क्याफेमा धेरै खपत हुन थालेका छन् ।’ फेरि टायरबाट बनेका फर्निचरको आयु पनि लामो हुन्छ । ‘एकपटक किनेपछि धेरै वर्ष टिक्छ,’ श्यामले भने, ‘टायरमा गर्नु पर्ने काम भनेको एउटा मात्र हो– बेलाबेलामा त्यसमा लगाएको लुगा वा लेदर मात्र चेन्ज गर्ने ।’

श्याम अहिले सफल व्यवसायी भइसकेका छन् । उनको भिन्टेज नेपालमा एउटा सफल स्टार्टअपका रुपमा चित्रित हुन थालिसकेको छ । ६० हजार लगानी गरेर सुरु गरेको भिन्टेजले अहिले महिनामा नै पाँच लाखभन्दा बढीको कारोबार गर्न थालेको छ । केही पहिले जागिर खान विदेश जान खोजेका श्याम योबीचमा विभिन्न देश घुम्न पुगिसकेका छन् । ‘मन त अब ती देशहरुबाट नयाँ प्रविधि भित्र्याउने छ,’ उनले भने, ‘विकसित देशबाट केही सिकेर आउने हो भने नेपालमा अझ धेरै गर्न सकिन्छ ।’

कुनै समय विदेशिन खोजेका श्यामका लागि अब ग्राहकहरु नै प्रेरणाका स्रोत भएका छन् । उनले भने, ‘अहिले यो सब मैले भावी पुस्तालाई हाम्रो देशका सम्पदा र प्राकृतिक स्रोत अहिलेको जस्तै राखेर सुम्पिन्छु भनेर हो, यो काम पनि त्यसैको सुरुवात हो ।’
फरकधारबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*