हेटौंडामा एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

नेम्वाङको पक्षमा ५२ मत, अविश्वासको प्रस्ताव दर्ता गराउनेले नै गरे मतदान बहिष्कार
जनपत्र
२३ कार्तिक २०८०, बिहीबार १६:०८

हेटौँडा / अखिल नेपाल फुटबल संघ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । मकवानपुरको हेटौंडामा आयोजित विशेष साधारणसभामा बिहीबार नेम्वाङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । मतदानमा ५२ जनाले अविश्वासको प्रस्तावको विपक्षमा भोट दिँदै अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुने मत व्यक्त गरेका छन् ।

अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा पक्षमा रहेका भनिएका ३४ मतदाताले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन् ।एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसमध्ये ५२ जनाले अध्यक्षबाट नेम्वाङलाई हटाउन नहुनेमा भोट हाले भने १ भोट बदर भएको थियो । अध्यक्ष हटाउने पक्षमा भने एक भोट पनि परेन ।

हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र नै नराखी विशेष साधारणसभा अगाडि बढेको थियो । साधारण सभामा विवाद हुने आशंकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । नेम्वाङ एन्फाको इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् । एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*