हेटौंडामा ‘अविश्वासको प्रस्ताव’ फेस गर्दै एन्फा अध्यक्ष नेम्वाङ

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । विशेष साधारण सभा मकवानपुरको हेटौंडा-४ स्थित रोयल पार्टी प्यालेसमा सुरु भएको हो । विशेष साधारण सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव पेश गर्ने एक मात्र एजेन्डा रहेको एन्फा केन्द्रीय समिति सदस्य टीकाराम लामाले जानकारी दिए । कुल ११० प्रतिनिधि रहेकोमा साधारण सभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छन् ।
कडा सुरक्षा व्यवस्थाबिच अखिल नेपाल फुटबल संघको विशेष साधारणसभा हेटौंडामा सुरु भएको छ । बिहान ८ बजेका लागि बोलाइएको सभा करिब चार घण्टा ढिला गरी सुरु भएको छ । एक वर्षअघि मात्रै निर्वाचित भएका अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छिनोफानो गर्न विशेष साधारणसभा राखिएको हो ।
हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्रै नगरी सभालाई अगाडि बढाइएको छ । एन्फा अध्यक्ष नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका कारण उनले अध्यक्षता गर्न नमिल्ने र वरिष्ठ उपाअध्यक्ष वीरबहादुर खड्काले अध्यक्षता गर्न नमानेपछि सभाको उद्घाटन सत्र नराखिएको हो । ‘सिधै बन्द सत्र गरी अध्यक्षविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलसँगै मतदान गर्ने तयारी भइरहेको छ ।’, एन्फाका एक केन्द्रीय सदस्यले भने ।
सभामा झगडा हुन सक्ने स्थितीलाई मध्यनजर गर्दै व्यापक प्रहरी परिचालन गरिएको छ । नेम्वाङ एन्फा इतिहासमा अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् । एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अविश्वासको प्रस्ताव सामना गर्न मकवानपुरको साधारणसभा गर्ने निर्णय गरेको थियो । साधारणसभामा दुईसय १० जना प्रतिनिधिको उपस्थिति रहेपनि ८६ जना सदस्यसँग मात्र मताधिकार रहेको छ ।