प्रदेश ३ का प्रमुख सचिब ढकालको लोकसेवा आयोगमा सरुवा

संघिय सरकारले १६ जना सचिवको सरुवा गरेको हो । प्रदेश ३ मा कायम मुकायम सचिवको रुपमा तोयम राय आउँदै ।
जनपत्र
३ भाद्र २०७६, मंगलवार २१:२९

हेटौंडा । संघिय सरकारले प्रदेश ३ का प्रमुख सचिव सहित सरकारका १६ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई लोक सेवा आयोगमा सरुवा गरेको हो । प्रदेश ३ मा एक वर्ष भन्दा बढी बस्नु भएका ढकालले यो अवधिमा धेरै राम्रा र महत्वपूर्ण कामहरु गर्नुभएको छ ।

प्रदेश ३ सरकार पूर्ण रुपमा नयाँ संरचना भएकाले पनि काम गर्नका लागि पहिले आउँदा समस्या भएपनि अहिले भने सहज बनाइएको ढकालले बताउनुभयो । प्रदेश ३ को प्रमुख सचिवका रुपमा ३ सय ७२ दिन बस्दा सहयोग गर्ने सबैलाई धन्यवाद समेत उहाँले ब्यक्त गर्नुभयो । प्रदेश ३ मा कानून निर्माणको कामलाई बढी प्राथमिकताका साथ गरिएको र अव आउनेलाई सहज रुपमा काम गर्ने वातावरण समेत तयार पारिएको छ ।

ढकाल गएपछी प्रदेश ३ को प्रमुख कायम मुकायम सचिबका रुपमा तोयम राय आउनुहुने भएको छ । अर्थ मन्त्रालयका सहसचिवका रुपमा काम गर्नु भएका राय कायम मुकायम प्रमुख सचिबका रुपमा काम प्रदेश ३ मा आएर काम गर्ने हुनु भएको छ । राय सहसचिवबाट सचिवमा बढुवाको लाईनमा हुनुहुन्छ । अहिले भईरहेका सहसचिबमा सिनियर सहसचिबका रुपमा रायले काम गर्दै आउनुभएको छ ।

सरकारले बाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्याललाई बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा सरुवा गरिएको छ । शिक्षा सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र जनसंख्या सचिव रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाइँलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा हरि पौडेललाई राष्ट्रपति कार्यालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयका सरुवा गरिएको छ । सिँचाई मन्त्रालयका सचिव डा सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सर्तकता केन्द्रका माधव वेल्वासेलाई खानेपानी मन्त्रालय, भूमिसुधार मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक र महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई भूमिसुधार मन्त्रालयमा सरुवा गरिएको छ ।  प्रदेश ५ का प्रमुख सचिव डा तीर्थराज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*