हिन्दू राष्ट्रवादलाई बेच्न सफल सनी देवलको ‘गदर २’
म पाकिस्तानमा एक महिना बसेको छु, त्यो बसाइ हरेक हिसाबले अत्यन्त आत्मीय रह्यो । हिन्दूहरुको अतिथि देवो भवः भन्ने जुन भनाइ छ, मुस्लिम देश भए पनि त्यसलाई वास्तविक अर्थमा उनीहरुले लागू गरेको मेरो ठम्याइ हो ।
एक महिनाको अवधिमा मैले त्यहाँको सहरी तथा ग्रामीण जीवन देख्न र केही हदसम्म अनुभूति पनि गर्न पाए । संयोगले एउटा गाउँ उनीहरुको स्वतन्त्रता दिवस १४ अगस्टमा पनि भाग लिएँ । त्यहाँ रहँदा मलाई लागेन उनीहरु कुनै पनि प्रकारका हिंसालाई बढावा दिने नागरिक हुन् । तर मलाई धेरै आश्चर्य लाग्छ खासगरी हिन्दी सिनेमाहरुले भारत र पाकिस्तानको मनमुटावलाई यति बढाइचढाइ प्रस्तुत गर्छन् कि मानौं भारतीयहरुका लागि पाकिस्तान सबैभन्दा ठूलो राक्षस हो ।
मेरो एक महिनाको बसाइको क्रममा त्यहाँका एक जना मित्रले भनेका थिए- ‘भारत र पाकिस्तानका शासकहरु दुवैले कश्मीर समस्यालाई कहिल्यै पनि सल्टाउन चाहँदैनन्, किनभने कश्मीरको समस्या सल्टिने बित्तिकै दुवै देशका शासकलाई लड्ने मूल विषय नै बाँकी रहँदैन । अतः त्यो समस्यालाई ज्यूका त्यूँ राख्न नै उनीहरुले साधन स्रोत खर्च गरिरहेका छन् । त्यही स्रोत अन्य विकास निर्माणमा लगाएको भए आज पाकिस्तान र भारत अर्कै देश हुन्थे ।’
यही पृष्ठभूमिलाई आधार मानेर ११ अगस्टमा रिलिज भएको बलिउड फिल्म ‘गदर २’ हेरें । यसको मूल कथावस्तु मैले अनुभव गरेकै क्षेत्रमा केन्द्रित छ । तर त्यो भन्दा बढी यो अहिलेको मोदीको हिन्दू राष्ट्रवादलाई यसले मज्जाले नै बेच्न सफल भएको छ । किनभने भारत पाकिस्ताको विभाजन भएको पनि ७६ वर्ष भइसक्यो अर्थात् लगभग दुई पुस्ताले अलग देशको अभ्यास गरिरहेका छन् । तर तेस्रो पुस्तामा आइरहँदा सन् १९४७ को अवस्था त अहिले निश्चय पनि छैन । कश्मीरको सवाललाई छोड्ने हो भने दुई देशबीच अरु कुनै ठूला सवालहरु छैनन् । तै पनि किन यही चरम दुश्मनीकै कथाहरुलाई अहिले पनि भारतीय मनोरञ्जनको बजारले खरिद गरिरहेको छ । सोचनीय विषय हो यो ।






