सौन्दर्य दुनियाँकी प्रेरणा- विनी हार्लो
विनी हार्लो क्यानेडियन सुपर मोडेल हुन्। उनी भिटिलिगो मोडेल भनेर समेत चिनिन्छिन्। चार वर्षको उमेरमा उनलाई छालामा भिटिलिगो अर्थात् सेतो दुबी देखिएको थियो। त्यही कारणले स्कुल पढ्दा साथीहरूले धेरै हेपेको उनले अन्तर्वार्ताहरुमा बताउँदै आएकी छिन्। बिनीले भनेअनुसार उनलाई स्कुलमा प्रायः जेब्रा या गाई भनेर बोलाउने गरिन्थ्यो। साथीहरूको त्यस्ता व्यवहारले धेरै पटक स्कुल नै परिवर्तन गर्नुप¥यो र हाई स्कुलमै पढाइ छाड्नुप¥यो। त्यही कारण उनले आत्महत्याको कोसिस समेत गरिन्।
बिनीले सन् २०११ को जुलाइमा यु–ट्युबमा ‘भिटिलिगो– अ स्किन कन्डिसन, नट अ लाइफ चेन्जर’ शीर्षकको भिडियो पोस्ट गरेकी थिइन्। उनले उक्त भिडियोमा सेतो दुबी लिएर बाँच्दाका अनुभवहरू सेयर गरेकी थिइन्। जसलाई लाखौँ मान्छेले हेरेका थिए र उनलाई साथ दिएका थिए।
बिनीलाई सन् २०१४ मा अमेरिकाज नेक्स्ट टप मोडलका होस्ट टायरा लिन बैंकले सामाजिक सञ्जाल इन्टाग्राममा नोटिस गरेको थियो। जसको फलस्वरूप उनी अमेरिकाज नेक्ट्स टप मोडेलमा प्रतिस्पर्धा गर्ने एक मात्रै क्यानेडियन हुन् पुगिन्। उनी सन् २०१४ मा अमेरिकाज नेक्ट्स टप मोडेलको २१औँ साइकलबाट अझै बढी चर्चामा आएकी थिइन्। सन् २०१५ मा पोर्चुगिज जी क्यु मेन अफ ड इयर इभेन्टमा उनलाई ‘रोल मोडल’ नामको अवार्ड दिइएको थियो।
यी बाहेक पनि सेतो दुबीको विषयमा जनचेतना फैलाएको भनेर उनलाई थुप्रै अवार्डले सम्मानित गरिएको छ। उनले थुप्रै टिभी शो र म्युजिक भिडियोहरूमा समेत काम गरेकी छन्। साथै, उनले लण्डन फेसन विक, भिक्टोरियाको सिक्रेट फेसन शो लगायत अन्तर्राष्ट्रिय स्तरका फेसन शोहरूमा सहभागिता जनाएकी छन्। थुप्रै म्यागेजिन र ब्रान्डहरूमा फिचर्ड समेत भएकी छन्।
मार्च २०२२ मा बिनीले सन केयर र स्किन केयर ब्रान्ड ‘के स्किन’ को स्थापना गरेकी छन्। उनलाई सामाजिक सञ्जालमा करोडौँ मानिसले रुचाउने गरेका छन्। उनी सन् २०१८ मा बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा चुनिएकी थिइन्। उनलाई सेतो दुबी रोगको सार्वजनिक प्रवक्ता भनेर समेत चिनिने गरेको छ।
बिनी सुन्दरता हेर्नेहरूको आँखामा हुन्छ भन्ने मान्छिन्। विश्वमा नै सौन्दर्यको एउटा भाष्य बनिसकेको पेसामा आज बिनीको छुट्टै पहिचान छ। उनी मोडलिङ क्षेत्रको आउटडेटेड स्टिरियोटाइपहरूलाई पुनः परिभाषित गर्दैछिन् र संसारकै मानिसलाई उत्प्रेरणा दिँदैछिन्।






