ट्वीटरलाई उकास्न एलन मस्कको चीनतर्फ नजर ! आखिर किन ?

जनपत्र
१७ श्रावण २०८०, बुधबार ०६:२५

एलन मस्कले यसै हप्ता माइक्रो ब्लगिङ साइट ट्वीटरलाई एक्स नामबाट रिब्रान्ड गरे ।

मस्कको यो कदमलाई चिनियाँ एप विच्याटकै बाटोतर्फ ट्वीटरलाई लैजानका लागि उठाइएको कदम मानिएको छ ।

आफ्नो सोसल मिडिया कम्पनी ट्वीटरलाई एउटा ठूलो प्लाटर्फमको रुपमा परिणत गर्ने आफ्नो चाहना रहेको मस्कले बताउँदै आएका थिए ।

मस्कले हाल नाम परिवर्तन गरी एक्स बनाइएको ट्वीटर कम्पनीलाई गत वर्ष ४४ अर्ब डलरमा खरिद गरेका हुन् ।

एलन मस्क वास्तवमा चिनियाँ एप विच्याटका प्रशंसक हुन् । उनले एभ्रिथिंग एप (सबै काम गर्न सकिने एउटा सम्पूर्ण एप) को रुपमा रहेको विच्याटको तारिफ गरिसकेका छन् ।

विच्याटले एउटै प्लाटर्फममा च्याट, डेटिंग, भुक्तानी तथा सोसल मिडियाको सुविधा दिने गर्दछ ।

मस्कले ट्वीटरलाई पनि विच्याटजस्तै एउटा सम्पूर्ण एप बनाउन चाहेको बताएका थिए । यदि त्यस्तो भयो भने यो ट्वीटरका लागि ठुलो सफलता हुनेछ ।

हालै एक्स (पहिलेको ट्वीटर) मा गरेको एक पोस्टमा मस्कले आगामी महिनाहरुमा एक्स प्लाटर्फममा सबै खालका वित्तीय कारोबारहरु गर्न सकिने फिचर थप गर्ने बताएका छन् ।
यसबाट कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने र आर्थिक स्थिति सुध्रिने आशा मस्कको छ ।

स्मरण रहोस् मस्कले खरिद गरेयता ट्वीटरको आम्दानी आधाले घटिसकेको छ । एक्स कम्पनी ठुलो परिमाणको ऋणले थलिएको छ र ऋण चुक्ता गर्न सकिरहेको छैन ।

उता चिनियाँ एभ्रिथिंग एप विच्याटलाई सन् २०११ मा प्रसिद्ध कम्पनी टेन्सेन्टले लञ्च गरेको हो । चीनको एक अर्ब ४० करोड जनसंख्यामध्ये अधिकांशले यो एप प्रयोग गर्दछन् ।

विच्याटलाई सुपर एप मात्र भन्नु पनि यसको अवमूल्यन हुन्छ किनकि यो एउटा सम्पूर्ण एप हो ।

विच्याटले एउटै प्लाटर्फमबाट मेसेजिंग, भ्वाइस तथा भिडियो कल, सोसल मिडिया, खाने कुराको डेलिभरी, मोबाइल भुक्तानी, गेम्स, समाचार तथा डेटिंग सर्भिसलगायतका सुविधाहरु उपलब्ध गराउँछ । यस अर्थमा विच्याट एउटा यस्तो एप हो जसभित्र ह्वाट्सएप, फेसबुक, एप्पल पे, अमेजन, टिन्डरलगायतका सबै एपहरु हालिएको छ ।

विच्याट चिनियाँ समाजमा यतिविधि प्रयोग गरिन्छ कि चिनियाँहरू विच्याटबिना दैनिकीको कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।

विच्याट एउटा ह्वाट्सएप तथा आइमेसेजन जस्तो प्लाट मको रुपमा सुरु भएको थियो । यसमा सबैभन्दा धेरै प्रयोग हुने फिचर चाहिं च्याट्स तथा मोमेन्ट्स हुन् ।

च्याट्स फिचर भनेको ह्वाट्सएप जस्तै च्याटिंग प्लाटर्फम हो भने मोमेन्ट्स भनेको फेसबुक जस्तै प्लाटर्फम हो ।

ह्वाट्सएपको वालेट फिचर पनि निकै धेरै प्रयोग हुन्छ । यसलाई डेबिट तथा क्रेडिट कार्डसँग लिंक गर्न सकिन्छ । चीनमा धेरैजसो पसल तथा अनलाइन रिटेलरहरुले पनि विच्याटबाटै भुक्तानी लिन्छन् ।

प्रयोगकर्ताहरुले क्यूआर कोड स्क्यान गरी यो एपको माध्यमबाट भुक्तानी गर्न सक्दछन् । यसबाट घरेलु युटिलिटीको बिल भुक्तानी गर्न सकिनुका साथै कर्जा लिन र लगानी गर्न समेत सकिन्छ ।

विच्याटमा सरकारी सुविधाहरु पनि उपलब्ध छन् । प्रयोगकर्ताहरुले सामाजिक सुरक्षासँग सम्बन्धित जानकारीहरु प्राप्त गर्न, टिकट बुक गराउन र अस्पतालमा नाम लेखाउनका लागि समेत विच्याट प्रयोग गर्न सक्दछन् ।

कोभिड महामारीका बेला जब चीनमा शून्य कोभिड प्रतिबन्ध लगाइएको थियो त्यसबेला मानिसहरुका लागि विच्याट अनिवार्य जस्तै बनेको थियो । यो एपको माध्यमबाट सिर्जना हुने स्वास्थ्य कोड विना मानिसहरु बाहिर निस्किन पाउँदैनथे ।

तर यो एउटै एपमा यतिधेरै फिचर हुनुका केही घाटा पनि छन् । धेरै फिचरहरुका कारण यसले फोनमा धेरै मेमोरी कब्जा गर्दछ । यसले डाटा स्टोरेजको केही गिगाबाइट ठाउँ लिन्छ ।

विच्याट र सेन्सरको संकट

चीनमा मानिसहरुको जीवको हरेक हिस्सामा विच्याटको उपस्थितिले सरकारको तर्फबाट लागू गरिने सेन्सरशिपको चिन्ता पनि बढाइदिएको छ । यसबाट सरकारको निगरानी तथा प्राइभेसीसँग सम्बन्धित चिन्ताहरु समेत पैदा गरेको छ ।

चीनले विभिन्न विदेशी वेबसाइटहरुलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाएको छ । बीबीसीजस्ता समाचार साइटदेखि फेसबुक जस्ता सोसल मिडिया प्लाटर्फममाथि पनि चीनमा बन्देज छ ।

यता एलन मस्कचाहिं एक्सलाई नै विच्याटजस्तो बनाउन चाहन्छन् । तर विडम्बना चीनमा एक्स ९ट्वीटर० पनि प्रतिबन्धित छ ।

इन्टरनेटमा सरकारको त्यस हदसम्मको नियन्त्रण ती मानिसहरुका लागि निकै खतरनाक हुन्छ जसले विच्याटमा सरकारविरुद्ध बोल्दछन् ।

त्यसैले सरकारसँग असहमति राख्नेहरुको अकाउन्ट कैयन् दिन वा हप्तासम्मका लागि बन्द हुने कुरा समान्यजस्तै हो । च्याट वा मोमेन्ट्समा सरकारको विरुद्धमा केही कुरा लेख्दा वा बोल्दा यस्तो हुनसक्छ ।

यहाँसम्म कि आम मानिसको दृष्टिमा विवादास्पद नदेखिने खालका जानकारीहरु शेयर गर्नु पनि सरकारी सेन्सरको दायरामा आउने खतरा रहन्छ ।

एटलान्टिक काउन्सिलको ग्लोबल चाइना हबमा सहनिर्देशक रहेका किश लियाओका अनुसार विच्याट जस्ता सुपरएपहरु मानिसको जिन्दगीमाथि नियन्त्तण गर्ने सरकारको उद्देश्यमा सहयोगी बनिरहेका छन् ।

उनी भन्छन्, ‘एक प्रकारले यो राजनीतिक जोखिमबाट आफैंलाई बचाउने सरकारको तरिका हो । अर्थात् एउटा यस्तो तरिका जसबाट सरकार र अन्ततः चिनियाँ कम्युनिष्ट पार्टीको सत्तालाई चुनौति नआओस् ।’

हङकङस्थित चाइनिज विश्वविद्यालयका कचेंग फांगका अनुसार चीनमा विच्याटको सफलतामा दुईवटा कुराको हात छ ।

उनका अनुसार चीनमा डेस्कटपको तुलनामा स्मार्टफोनमा विच्याट चलाउने मानिसहरु धेरै छन् । त्यसैले वेबको साटो एप चलाउँदा तथा कम्प्युटरको तुलनामा स्मार्टफोनमा एभ्रिथिंग प्लाटर्फम बन्न सजिलो हुन्छ ।

साथै चीनमा प्रतिस्पर्धासँग सम्बन्धित नियमन कमजोर रहेको उनी बताउँछन् । तर पश्चिमा देशहरुमा भने यस्तो नियमन ससक्त छ । चीनमा प्रतिस्पर्धासँग सम्बन्धित नियमनहरु कमजोर भएका कारणले गर्दा विच्याटका लागि शपिंङ प्लाटर्फम ताओबाओ तथा भिडियो एप डुइनजस्ता प्रतिद्वन्द्वी प्लाटर्फमहरुलाई ब्लक गर्न सजिलो छ ।

के मस्कले चीन बाहिर काम गर्ने विच्याटजस्तै एप बनाउन सक्लान् रु यसको उत्तर त आउने दिनमै थाहा होला । तर विज्ञहरुका अनुसार यो सबै कुरा डिजिटल भुक्तानीमा भर पर्नेछ ।

नीति अनुसन्धान कम्पनी ट्रिभियम चाइनाकी केन्ड्रा शेफरका अनुसार चीनमा विच्याटलाई सफल बनाउने अहम चिजहरु मस्कले पहिचान गरिसकेका छन् ।

उनी भन्छिन्, ‘मस्कले ती चिजहरु बुझिसकेका छन् जसका कारण चिनियाँहरुको दैनिक जीवनमा विच्याट अत्यन्तै महत्वपूर्ण बनेको हो । खासगरी यसको सोसल मिडिया तथा डिजिटल भुक्तानीको पहलले यसलाई महत्वपूर्ण बनाएको हो ।’

उनका अनुसार यी चिजहरु मस्कका लागि विच्याट जस्तो सुपर एप बनाउनका लागि उत्तम काइदा साबित हुनसक्छ ।

लगानी कम्पनी रेस क्यापिटलका एडिथ येअंगका अनुसार चीन र पश्चिमी देशहरुले अपनाएको डिजिटल भुक्तानी प्रविधिमा धेरै फरक छ ।

चीनमा धेरैजसो व्यवसायिक फर्महरुले नगद तथा क्रेडिट कार्ड लिंदैनन् । यो फरकपनाले मस्कको महत्वाकांक्षा पूरा गर्नका लागि बाधा उत्पन्न गर्न सक्दछ ।

उनी भन्छिन्, ‘पश्चिमी देशहरुमा नगद तथा क्रेडिट कार्डमुक्त समाज बन्नका लागि अझै धेरै समय लाग्न सक्छ ।’

बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*