अन्योलमा ‘दासढुंगा २’ !

फिल्म निर्माण गर्नु अगाडि चलचित्र विकास बोर्डमा दर्ता गर्नुपर्ने प्रावधान छ । बोर्डमा दर्ता नगरि फिल्म निर्माण र रिलिज गर्न पाइँदैन । यसको मारमा फिल्म ‘दासढुंगा २’ परेको छ । निर्माण घोषणा भइसकेको यो फिल्म बोर्डले दर्ता गर्न मानेको छैन । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर बन्न लागेका कारण फिल्म दर्ता हुन नसकेको हो ।
बोर्डले निर्माण अनुमति दिन आनाकानी गर्दा फिल्म निर्माण प्रक्रियामा अवरोध सृजना भएको छ । फिल्म निर्माण हुने वा नहुनेमै अन्योलता छाएको छ । चलचित्र विकास बोर्डले फिल्मको स्क्रिप्ट राय–सुझावका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानमा पठाएको छ । बोर्ड अहिले प्रतिष्ठानको जवाफको प्रतिक्षामा छ । राष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको उक्त प्रतिष्ठानले फिल्म बनाउन अनुमति दिने सम्भावना न्यून रहेको स्रोत बताउँछ ।