चिउरी, चेपाङ र चमेरो
चिउरीः
बहुउपयोगी, बहुआयामिक रुपमा प्रयोग हुने चिउरीको वैज्ञानिक नाम म्ष्उयिपलझब दगतथचबअभब हो । यसलाई अंग्रेजीमा द्यगततभच त्चभभ भनिन्छ जुन क्बउयतबअभबभ परिवार अन्तर्गत पर्दछ । विशाल छाँयादार चिउरीका रुखहरु सप्रेको ठाउँमा २०–२५ मिटरसम्म अग्लो र १०–१५ फुटसम्म गोलाइ हुने गर्छन् । प्राकृतिक अवस्थामा चिउरी सय वर्षसम्म सजिलै बाँच्न सक्ने रुख प्रजाति हो ।
यसलाई संस्कृतमा मधुपुष्प, हिन्दीमा फुल्वारा, तामाङले च्युम्ली, राइले इशी, लिम्बुले इम्सेबा, थारुले चिहुली, नेवारले इबुची पुमा भन्दछन् । चेपाङ भाषामा चिउरीलाई यो, यसको फललाई योसाई, बियाँलाई युलुंग र फूललाई योरोे भनिन्छ ।
पातको तल्लो भागमा झुप्प परेको क्रिम रङको २०–२५ वटा फूल एकैपटक थुप्रै फुल्ने गर्दछन । चिउरीको फल साना, अन्डाकार २ सेमी सम्म लम्बाईका पाइने गर्छन् । फलको बाहिरी भाग गुदियुक्त, रसदार स्वादिष्ट हुन्छ भने बीचमा बियाँँ रहेको हुन्छ ।
भौगोलिक फैलावट एवं वितरणः
चिउरीको बोट घाम प्रशस्त लाग्ने ओसिलो चट्टानयुक्त तथा भिरालो पाखा, बारी नजिकको खुल्ला स्थान, चरणक्षेत्र र खोरिया फडानीको क्षेत्रमा तुलनात्मक रुपमा राम्रो पाइएको छ । चिउरीको वृद्धिको लागि प्रसस्त प्रकाश चाहिने हुनाले घना जंगलमा कम देखिएको छ । मुलत दक्षिणी मोहडा यसले मन परायता पनि घाम प्रशस्त पाउने र आद्रता पुग्ने उत्तरी मोहडामा पनि यसको अवस्था राम्रो देखिन्छ ।
चिउरी नेपालमा चुरे तथा महाभारत क्षेत्रको ३०० मिटरदेखि १६०० मिटर उचाइसम्म फैलिएर रहेता पनि १८०० मिटरको उचाईसम्म पाइएको रेकर्ड छ । मेडेप (२०१०) अनुसार नेपालको पुर्व देखि पश्चिमका चुरेक्षेत्र र महाभारतको तल्लो भेगको ४६ जिल्लामा चिउरीकोे तथ्यांक दिएपनि पछिल्लो अध्ययनले ५३ जिल्लामा चिउरी पाइएको छ र बिस्तृत खोजि हुने हो भने अरु बढ्न सक्ने देखिन्छ । बिरुवा बाहेक बिउ दिने रुखको अनुमानित संख्या ५० लाख भन्दा बढी रहेको छ । नेपाल बाहिर भारत, चीन, भुटानसम्म फैलिएर रहेको छ ।
नेपालमा पूर्वको तुलनामा मध्य र पश्चिम भेगमा चिउरीको उपस्थिति राम्रो रहेको मानिन्छ । बागमती प्रदेशमा मकवानपुर, चितवन, धादिङ चिउरी पाइने प्रमुख जिल्ला हुन् । चेपांग समुदायको बाहुल्य रहेकोले पनि यसक्षेत्रमा शंख्यात्मक र गुणात्मक हिसाबले राम्रो हुन् सक्छ ।
मकवानपुरको साविकको काकड़ा गाविस (हाल राक्सिरांग ६–७–८) चिउरीको राजधानी भन्दा फरक नपर्ला । यसैगरी राक्सिरांग, खैरांग, कैलाश, सरिखेत, पलासे, नामटार, कालिकाटार, भैसे, मकवानपुरगढी, बकैयामा पनि यसको राम्रो उपस्थिति छ ।
चितवनको सिद्धि, कोराक, लोथर, शक्तिखोर, काहुले, दारेचोक, चण्डीभन्ज्यांग, इच्छाकामनामा उपस्थिति छ । यी मध्ये सिद्धि, कोराक राम्रो क्षेत्र हो । मकवानपुरको मनहरी खोलादेखि चितवनको कयर खोलाको बिचमा पर्ने चुरे र महाभारतको तल्लो भेग यसको उपयुक्त क्षेत्र हो ।
धादिङको रोरांग, धुषाक्षेत्र चिउरी पाइने मुख्य क्षेत्र थियो तर ग्रामिण क्षेत्रमा सडक पुगे संगै त्यहाका अधिकांस चिउरिका रुखहरु रोगको कारण र चेपांग समुदायले केवल दाउराका लागि बिक्रि गरे र अहिले त्यो क्षेत्रमा अत्यन्त कम मात्र चिउरी बाँकी छ ।
प्रजातिगत बिबिधता ः
नेपालमा वाय, लान्य, चितीय र तोम्य गरि ४ प्रकारका (बोलीचालीमा वायो, लान्यो, तोम्यो र चितियो पनि भनिन्छ) चिउरी छन् भनेर विभिन्न अध्ययन र स्थानीयसँगको छलफलले देखाएको छ तर राक्सिरांग ७ धिरांगका स्थानीयले यी ४ प्रजातिका अलावा जाय (जायो) नामको अलिक सानो फल लाग्ने र तुलनात्मक रुपमा माथिल्लो उचाइमा हुने चिउरी रहेको बताएका छन् ।
स्थानीय चेपाङले चिउरीलाई सहजताको लागि यसको फूल फुल्ने महिनालाई आधार मानेर चिन्ने र चिनाउने गर्दछन् । मुख्य गरेर अगौटे र पछौटे हुन् जसअनुसार अगाडी फूल फुल्ने अगौटे (वाय, तोम्य) र पछाडी फूलफल्ने पछौटे (चितीय, लान्य, जाय) हुन् । धेरै सजिलै पाउने प्रजातिमा वाय पर्दछ । कतिपय स्थानमा असारे, श्रावने, भदौरे पनि भन्ने गरिएको छ तर प्रजतिगत विविधताको बिस्तृत नभलभतष्अ अध्ययन पुरा भएको छैन ।
चिउरीको फूल फुल्ने समय प्रजाति अनुसार मंसिरदेखि बैैशाखसम्म रहेको पाइन्छ । चिउरीको सह प्रजातिमा साल, अस्ना, कोइरालो, सिमल, अमला, बोटधयेरो, टाटरी लगायतका प्रजाति हुन् । यसको पतझड समय भने अन्य प्रजातिको भन्दा फरक छ जब अरु अधिकांश रुख–बिरुवाको पात चैत्र बैसाखमा झर्छ त्यो बेला यो अत्यन्त गाढा हरियो अवस्थामा हुन्छ । वर्षात् पश्चात् श्रावण देखि असोजको मध्यसम्म फल फल्ने समयमा छोटो समयको लागि फरकफरक समयमा पात झर्छ र तुरुन्त पलाउन सुरु गर्छ ।
प्राकृतिक अवस्थामा हुर्केको एउटा चिउरी बोटमा फूल फुल्न एक दशक लाग्छ तर जल, मल र प्रकाश पुगेको स्थानमा ७–८ बर्षमा पनि फुलेको पाइएको छ । राम्रो उत्पादन भने करिब १२–१५ बर्षको उमेरबाट दिन्छ र यो क्रम करिब नमर्दा सम्म कायम रहन्छ । अन्य रुख बिरुवा जस्तै यसमा पनि वर्ष बिराएर राम्रो फल र फूलको उत्पादन दिने गर्दछ ।
यी स्थानीय प्रजाति भएको, रुखो सुक्खा स्थानमा पनि सहजताका साथ हुर्कन सक्छ । यसलाई रोग किरा , डढेलो, चरिचरणबाट जोगाउन सक्ने र जथाभावी हाँगा नकाट्ने हो भने सयौँ वर्षसम्म सहज उपभोग गर्न सकिन्छ । एकपटक हाँगा काटेपछि सोहि हाँगाबाट फल फल्न कम्तिमा ३–४ बर्ष लाग्दछ तसर्थ यसको हाँगा काट्दा अत्यन्त बिचार पुर्याउनु पर्दछ ।
चिउरी एक, उपयोग अनेक
चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति हो । यसको पात देखि बिया फल, फूल, रुख सबै उपयोगी हुनाले यसलाई “कल्पवृक्ष” भनेर भन्दा उपयुक्त हुनेछ । यद्यपी यसको प्रयोग स्थान विशेष रितिरिवाज, संस्कृति अनुसार विभिन्न जातजातिले फरक ढंगले उपयोग गर्ने गरेका छन् ।
पातः यो गाईवस्तुको महत्वपूर्ण डालेघाँस हो । सुक्खा याममा जब सबैतिर घाँसको अभाव हुन्छ त्यो बेला यसको महत्व अझ बढी देखिन्छ । पातबाट चेपाङ समुदायले परम्परागत रुपमा दुनाटपरी बनाएर त्यसको प्रयोग गर्छन् यद्यपी व्यवसायिक रुपमा यसको प्रयोग भएको देखिदैन । धेरै स्थानमा गाईवस्तुको लागि पत्कर सोहोरेर गोठमा हाल्ने अनि यसलाई कम्पोस्ट मलको रुपमा प्रयोग गरेको पाइन्छ ।
फूलः यसको फूल माहुरी, चराचुरुंगी र पुतलीको प्रमुख गन्तब्य हो । फूलमा भएको रस अत्यन्त गुलियो हुनेहुँदा मौरीलाई मात्र होइन यसको फूलबाट रस झारेर मानिसले पनि सिधै खाने अनि रोटीमा पनि प्रयोग गर्ने गरिन्छ । यसको रसमा गुलियोपना चिनीको मात्रा ४०% भन्दा अधिक हुन्छ । प्रकृतिमा रहेका अन्य बिरुवाको तुलनामा यसको फूलको रस अत्यन्त गुलियो हुने र लामो समयसम्म रहने हुनाले मौरी पालक किसानले यसको फूल फुल्ने समयमा ५–६ पटक सम्म मह काढ्ने गर्दछन् । केहि स्थानमा यसको रसलाइ खुदो पनि भन्दछन र रसबाट क्यान्डी (चकलेट) पनि बनाइन्छ ।
फलः आकर्षक, पोषिलो र गुलियो हुन्छ । यो प्राय टिपेर सिधै चुसेर खाइन्छ । कतिपय स्थानमा फल निचोरेर जुसको रुपमा पनि प्रयोग गरिन्छ । यसमा पाइने रसमा दुधमा पाइने तत्वको मात्रा अधिकतम हुनाले आमाको मृत्यु भएको साना बच्चालाई पनि खुवाउने चलन थियो भनेर भनिन्छ । स्थानीय चेपांग समुदायले यसको रसबाट छ्यांग, फलबाट रक्सि बनाउन र यसको छोक्रा (स्थानीय भाषामा लादि) गाइबस्तुलाई आहारको रुपमा पनि प्रयोग गर्दछन । यसको फल चेपांगहरुले गोसे, तासे भनिने वन्यजन्तु मलसाप्रो लगायत जनावरको प्रमुख आहारा हो ।
बियाँँ ः चिउरीको फलभित्र यसको बियाँँ हुन्छ जसलाई बिजुला पनि भनिन्छ । एउटा रुखमा यति नै बिउ फल्छ भन्ने यकिन छैन तर औषतमा एक रुखमा ६५ केजीभन्दा बढी फल्ने बिभिन्न अध्ययनले देखाएको छ यद्यपी रुखको उमेर, प्रजाति, मोहडा, उचाई, साइज, बिउ बर्षमा भर पर्दछ ।
यसको बियााँबाट घ्यु बनाएर प्रयोग गरिन्छ । बोलीचालीमा घ्यु भनिएपनि वास्तवमा यो तेल नै हो । चिउरीको तेल उच्च तापमानमा (३१–५१ डिग्री) मात्र पग्लने र औषत तापमानमा ठोस रुपमानै रहने हुनाले यसलाई चिउरीको घ्यु भनिएको हो । राम्रो मेसिन भएमा चिउरीको बियाँबाट कुल तौलको ४०% सम्म घ्यु निस्कन्छ । औसतमा ३ केजी बियाँबाट १ केजी घ्यु निस्किने स्थानीयको अनुभव छ ।
वनस्पतिबाट उत्पादन हुने र शुद्ध हुने हुनाले मन्दिर, गुम्बाहरुमा यसको घिउबाट बत्ति बालिन्छ । चेपाङ समुदायले सबैभन्दा अधिकतम उपयोग तरकारीमा भुटुनको रुपमा र सेलरोटि पकाउन प्रयोग गर्ने गरेका छन । यसलाइ मैनबत्ती, चकलेट, बिभिन्न सौन्दर्यका प्राकृतिक सामग्री बनाउन प्रयोग गरिन्छ साथै हातखुट्टा फुटेको ठाउमा नरम बनाउन, अनुहारमा दाग हटाउन क्रिमको रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।
पिनाः यसको पिना अन्नवालीमा कम्पोष्ट मल र किटनासकको रुपमा प्रयोग गरिन्छ । जमिनको किरा, कमिला मार्न, पुतली, गभारोबाट बालिलाइ बचाउन यो अत्यन्त उपयुक्त हो । यसमा ५% सम्म नाइट्रोजन पाइन्छ । पिना स्थानीय बजारमा बिक्रि पनि हुन्छन । कतिपय चेपाङले पिनासंग अन्न साटेर छाक टार्ने पनि गरेका छन् । खोला, पोखरी, ताल, तलाउमा माछा मार्नको लागि लट्याउन पनि यसको प्रयोग गरिन्छ ।
बोक्राः यसको बोक्राको रस गाईबस्तुलाई पेटमा किरा, किर्ना लागेको, पानि जुकाले खाएको बेलामा लगायत अन्य घरेलु उपचारमा प्रयोग गर्दै आएका छन् ।
चोप तथा लिसोः यसको पात तथा हाँगाबाट चोप (सेतो दुध जस्तै) आउछ जुन परम्परागत रुपमा लिसो बनाएर प्रयोग गरिन्छ । यसले चरा समात्न, किरा, मुसा मार्न र अन्य काममा प्रयोग गर्दछन ।
काठ तथा दाउराः चिउरीको काठ तथा दाउरा बलिया र राम्रा मानिन्छन यद्यपी अपवाद बाहेक हरियो चिउरीको बोट काटेर किसानले प्रयोग गर्दैनन् । प्राकृतिक अवस्थामा मरेका, हावाहुरीले ढलेका, चट्द्दयांग आदिले ढलेका रुखबाट उत्पादित काठ दाउराको लागि प्रयोग गरिन्छ तर यसको बिकल्पको रुपमा साल लगायतको काठ उपलब्ध भएको स्थानमा तुलनात्मक रुपमा यसको काठको प्रयोग कम हुन्छ ।
वाताबरनिय सेवा ः अन्य रुख बिरुवाले दिनेजस्तै यसका अनेक वाताबरनिय सेवा छन । चिउरीको बिरुवा क्षतिग्रस्त भूमिको पुनर्स्थापनाको लागि एक मह्त्वपूर्ण समाधान हो । कमजोर क्षमताको,रुक्खासुक्खा, चट्टानी भुमिमा पनि सहज बाँच्न सक्ने, प्राय भिरालो जमिन रुचाउने, चिउरी भुक्षय नियन्त्रणकोे एक दिर्घकालिन समाधान हो ।
चेपाङ समुदायः
प्रकृतिका पुजारीः
प्रकृतिका पुजारी चेपाङ समुदाय जल, जमिन, जंगल, वन्यजन्तु लगायतका प्रकृतिको भरमा सदियाँै देखि जीविकोपार्जन गरी प्रकृतिमा नै रमाउदै आएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणना अनुसार चेपाङहरूको जनसङ्ख्या ६८,३९९ रहेको छ ।
ड्ड चेपाङहरूले परापूर्व कालदेखि आफ्ना दैनिक व्यावहारिक चलनमा आफ्नै मातृभाषाको प्रयोग गर्दै आएका छन तर छुट्टै लिपि भने छैन । भदौमा पूजा गरिने छोनाम ‘न्वागी’ चेपाङहरूको सबैभन्दा ठूलो धार्मिक पूजा हो । चेपाङहरूले सिमेभुमे, आगो, खोलानाला, रूख आदिलाई पूजा गर्छन्।
ड्ड प्रारम्भका दिनहरुमा प्रकृति, हिन्दु, बौद्ध धर्म मान्ने चेपाङहरु पछिल्लो समय क्रिस्चियन धर्म अंगालेका समुह पनि ठुलो छ जसको कारण पुस्तौ देखिका सांस्कृतिक परम्परा भत्किदै गएका छन ।
थातथलोः रोजाइमा बिकटक्षेत्र
चेपाङको रैथाने बसोबास चुरेक्षेत्र र महाभारतको बिकट पहाडीक्षेत्र हो । यिनिहरु चितवन, मकवानपुर र धादिङका भूमिपुत्र र यहि उत्पत्ति भएको मानिन्छ । त्रिभुवन राजमार्ग देखि पश्चिम, हेटौडादेखि नारायणघाट खण्डको उत्तरी भेग, नारायणघाट देखि मुन्ग्लिंग खण्डको पूर्वी भेग र मुग्लिंगदेखि खानीखोलाको दक्षिण भेंगभित्र पर्ने पहाडी भूमिको भित्रि भाग यिनीहरुको थातथलो हो । यीमध्ये बसाइ सराइ गरेर केहि गोरखा, तनहुँ लम्जुंगतिर गए ।
अहिले काम, माम, शिक्षा र अवसरको खोजीमा मनहरी, लोथर, भण्डारा, टांडी, हेटौडा, बेनिघाट, धादिंगबेसी काठमाडौँका उपत्यकाका साथै देशका विभिन्न भागमा पुगेको छन । अन्य आदिवासी जनजातिको तुलनामा चेपाङसमुदाय बैदेशिक रोजगारमा कम छन ।
मकवानपुरको मनहरीको उत्तर राक्सिरांग, लोथरको उत्तर शिलिंगे, धिरांग, चितवनको भण्डाराबाट उत्तर भित्रिभेगको कोराक क्षेत्र, टांडी बजारबाट उत्तर सिद्धि क्षेत्रमा यिनको बाक्लो उपस्थिति छ । यसैगरी धादिङको बेनिघाट, मझिमटारबाट दक्षिणतर्फको रोरांग क्षेत्र साबिकको धुसा हालको बेनिघाट रोरांग गाउपालिका वार्ड नम्बर ८ र १० मा यिनीहरु रहेका छन् ।
उद्भव, रहन, सहन ः
चेपाङहरुले बसोबास स्थलको छनोट गर्दा जंगलको फेदी र खोलाको शिरलाई रोजेको पाइन्छ । यिनीहरुको उद्भवको बारेमा विभिन्न मत छ । केहीको मत यिनीहरु दोलखाबाट यो क्षेत्रमा आएका हुन भनियता पनि यिनीहरु यहिका रैथाने भूमिपुत्र हुन् भन्ने मत ठुलो छ । प्रारम्भमा चेपाङले आफुलाई चेपाङ भन्थे पछी प्रजा भन्न थाले, बहुदलको (२०४६) आगमन पश्चात पुनः चेपाङ लेख्दै आए हाल कसैले चेपाङ कसैले प्रजा लेख्ने गरेका छन ।
शारीरिक रूपमा होचा, बलिष्ठ, अन्य समुदायसँग अत्यन्त कम घुलमेल हुने सोझा र लजालु स्वभावका चेपाङ प्रायः आप्mनै समुहमा रमाउने गर्दछन । आर्थिक, सामाजीक, राजनीतिक रुपले पछाडी रहेका तर इमानका धनी, मनका फराकिला, सधै हाँसीखुसी र असन्तोष व्यक्त नगर्ने सिमान्तकृत यो समुदायले पछिल्लो समयमा बिगत भन्दा परिस्कृत जीवनशैली अपनाएको पाइन्छ ।
यिनीहरुलाइ भौगोलिक सिमानाको आधारमा भन्दा पनि सामाजीक, सांस्कृतिक सिमानाले बाँधेको छ । यिनीहरुको पहिचान जातीयमात्र नभई परम्परागत ज्ञान–सिप, संस्कार, भेषभूषा, भाषा र कला तथा संस्कृतिको आधारमा बनेको छ ।
निर्वाहमुखि जीवनयापनबाट आधुनिकता तर्फः
चेपाङ समुदायले परम्परागत कृषि कार्य नगर्ने हुनाले वनजङ्गल नजिकको खोरिया फडानी क्षेत्रमा भरपर्ने गरेका छन् । जीवनयापन सहजताको लागि खोलानजिक छरिएर रहेको पाइन्छ । निर्वाहमुखि जीवनयापनको लागि वन पैदावार चिउरी र सो बाट बनेका खाधपदार्थ, कन्दमुल,गिठ्ठा, भ्याकुर, वनतरुल, सिस्नो खाने, खोरिया खेति गर्ने, फलफुल, जडिबुटी, परम्परागत पेशा माछा मार्ने, चराचमेरा तथा साना जंगली जनावरको शिकारमा यो समुदाय आश्रित छ भने परम्परागत सिपबाट बनाइने डोको, डालो, नाम्लो, अम्रिसोको कुचो, जाबी बुन्ने कामबाट आंशिक रुपमा आम्दानि गर्ने गरेका छन् ।
प्रारम्भका दिनहरुमा ओडार, छाप्रोमा रहने चेपाङहरु हाल कोहीपनि ओडारमा छैनन् । बिगतभन्दा आधुनिक हुँदैआएता पनि चेपाङ समुदायका अधिकाँश घरहरू सामान्यतया भुइँतले ढुङ्गा, माटो र खर, स्याउलाले बनेको छन् । यधपी आयआर्जनको बिकल्प, बसाइ सराइसंगै कतिपय चेपाङहरूको घर इट्टा, सिमेन्टको प्रयोगसंगै काठ तथा जस्तापाताले बनेका छन ।
हिजोको तुलनामा सामाजीक रहन सहन, जीवनस्तर, शिक्षाको अवस्था बढेको छ, बाल बिवाह घटेको छ, बोल्न सक्ने, उभिएर कुरा गर्न सक्ने चेपांग समुदाय बढेको छ, बिभिन्न गोष्ठी सेमिनार आदिमा उपस्थित हुने, आमसभामा जाने कुरा सुन्ने अवस्थाले सुधार उन्मुख छ तर ग्रामिण क्षेत्रमा गएर हेर्ने हो भने अझै पनि अत्यन्त कमजोर वर्गको, कुपोषणले ग्रसित, बालविवाहको कुचक्र, गरिबीको दुस्चक्रमा फसेको भुइँ चेपाङको ठुलो जमात छ ।
चेपाङ समुदाय सामाजीक क्षेत्र, सरकारी तथा गैरसरकारी संघसंस्था, सेना, प्रहरी, शिक्षण पेशातर्फ पनि उन्मुख छन् । राजनीतिमा संविधानसभा सदस्य, प्रदेशसभा सदस्य, प्रदेश सरकारमा मन्त्रि सम्म भएका छन् र देशका बिभिन्न स्थानीय निकायमा निर्वाचित भएका छन ।
पछिल्लो समय केहि राम्रो गरौ भन्ने हिम्मतका साथ् अगाडी बढेको श्रमजीवीकोको एउटा ठुलो समुह छ जो आधुनिक जीविकोपार्जनका माध्यमहरू कृषि, तरकारी खेती, मौरीपालन, पशुपालन, व्यापार व्यावसायमा संलग्न भएको छ भने अर्कोतर्फ चिन्ता लाग्दो ढंगले आफ्नो काम र पेशाप्रति इमान्दार नभएको, बिभिन्न अवैध काममा संलग्न भएर बद्नाम हुदै गएको एउटा जमात पनि छ जसले समग्रमा चेपाङ प्रतिको बुझाइमा नै गम्भीर सवाल खडा गरेको छ ।
चमेरोः
चमेराहरु आफँैमा अदभूत र अलौकिक प्रकृतिका सुन्दर उपहार हुन् । चमेरो रातमा सक्रिय हुने र दिउँसोको समयमा आफ्नो शरीरको सन्तुलन कायम गर्न र उड्न सहजताको लागि झुन्डिएर टाउको तलतिर पारेर बस्ने प्राणि हो ।
ड्ड हावामा उड्ने झट्ट हेर्दा चरा जस्तो देखिए पनि, वास्तवमा यी प्रजातिहरु स्तनधारी वर्गको ऋजष्चयउतभचब उपवर्ग अन्तर्गत पर्दछन् । संसारमा स्तनधारी प्राणी मध्ये उड्न सक्ने जनावर चमेरा मात्रै हो । अहिले सम्म संसारमा १,४०० भन्दा बढी प्रजातिहरुको अभिलेख्न गरिएको छ । नेपालमा स्तनधारी जनावरहरु मध्ये धेरै पाइने प्रजाति चमेरो हो ।
नेपालमा ५५ भन्दा अधिक प्रजातिका चमेरो पाइएको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा पाइने सोर्वाको मुसाकाने चमेरो नेपालको रैथाने प्रजाति हो । आहारको आधारमा चमेरालाई २ प्रकारमा वर्गिकरण गर्न सकिन्छ, मांसाहारी र शाकाहारी ÷फलाहारी । संसारमा भएका चमेरोमध्ये करिव ७०% फलाहारी/शाकाहारी र करिब ३०% मांसाहारी रहेका छन् ।
चमेरो मुलत गुफामा, रुखको टोड्कामा, पुरानो घरको भित्ता वा छतमा, केराको घारी आदिमा बस्ने गर्दछन् । पोखराका विभिन्न गुफाहरु, भक्तपुरको सल्लाघारी, नारायणहिटी राजदरवार क्षेत्र, केशरमहल, ललितपुरको बज्रबाराही मन्दिर लगायत नेपालका विभिन्न भागमा चमेरो प्रशस्त पाइएता पनि अहिले कति घटेको छ त्यसको तथ्यांक हामीसंग छैन । तर बिगतको तुलनामा उल्लेखनीय रुपमा घटेको अनुमान गर्न सकिन्छ ।
स्वस्थताको सूचकः
चमेरो स्वस्थ्य वातावरणको सूचक हो र वातावरण संरक्षणको हिसाबले एक महत्वपूर्ण प्रजाति हो । फलाहारी चमेरो वनस्पतिमा परागसेचनको लागि एक उत्कृष्ट माध्यम हो । चमेरोले चिउरी, सिमल, टोटला, केरा, मेवा, आँप, लिची, अम्बा, अमला, पीपल, कदम, निम, सजिवन, जामुन लगायत करीब ७०० प्रजातिका वनस्पतिमा परागसेचन गर्दछ ।
चमेराले परागसेचन गराउने मात्र होइन, वनस्पतिलाई एक ठाउँबाट अर्को ठाउँमा फैलाउन मदत पनि गर्छ । चमेराले सिमल, खस्रेटो, रुद्राक्ष, कफी, बर, पीपल, अम्बा, डुम्री, समीका फल टाढा—टाढा लगेर खान्छ र त्यसको विउ झार्दछ र तिनका बिरुवाहरु उम्रन्छन् । त्यसैगरी बिष्टाबाट विभिन्न ठाउँमा तिनका बिरुवाहरु उम्रन्छन् ।
मांसाहारी चमेरोले हजारौको शंख्यामा लामखुट्टे, भुसुना लगायत अन्य हानिकारक किराहरु खाइदिएर मानव स्वास्थ्यमा अतुलनिय योगदान पुर्याएको छ । चमेरोको झुण्डले अन्नबाली खाईदिने वा नोक्शान गर्ने किरा आदिलाई खाएर अन्न जोगाउन पनि मदत पुर्याउदछ ।
चमेरोको बिष्टा एक उत्कृष्ट प्रांगारिक मल हो । यसको विष्टाको सहि सदुपयोगबाट किसानले प्रसस्त लाभ पाउन सक्दछन् ।
हामीले यसको सकारात्मक पक्षलाई उजागर गर्न सकेका छैनांै त्यसैले कयौँ स्थानमा फलफूल बालिनाली नोक्सान गर्यो भनेर सबै रिस प्रकृतिको यो अत्यन्त कोमल र गुणकारी प्राणी माथि पोख्ने गरिन्छ ।
तिब्र संकटमा
हाम्रो बेवास्ता, चेतनाको अभावले चमेरो दिन प्रतिदिन संकटमा छन् । हिजोका दिनमा ग्रामिण क्षेत्रमा आकाशै ढाक्ने गरि उड्ने चमेरोहरु आज गन्न सकिने अवस्थामा आइ पुगेका छन् । कारण एक होइन अनेक छन तर प्रमुख कारण मध्ये चमेरोको शिकार एक हो । नेपालका मात्र नभई विश्वका बिभिन्न भागमा चमेरो सिकार गर्ने गरिएको छ । नेपालमा चेपाङ, सतार, चिडिमार लगायतका जातिले मासुको लागी यसलाई पासोमा पारेर मार्ने गरेका छन् ।
अर्को महत्वपूर्ण कारण यसको न्यून प्रजनन् दर हो । सामान्यतया एक चमेरोले एक बर्षमा एक बेत र एक बेतमा एकमात्र बच्चा जन्माउने हुनाले पनि यसको वृद्धि दर कम छ । पोथी चमेरोले बच्चा भएको बेलामा आफनो शरीरमा नै बच्चा राखेर उड्ने गर्दछ र यी माउ चमेरो शिकारमा पर्नु भनेको माउ र बच्चा दुवैको अन्त्य हुनु हो ।
जलवायु परिवर्तनको असर, तिब्र शहरीकरण, हल्ला, कोलाहल, धुवाधुलो, वायु प्रदुषण, बिजुलिको नाङ्गो तारमा ठोकिएर, खाद्यान्नमा विषादीको प्रयोग, अग्ला रुख एवं बासस्थानको बिनाश, अन्धविश्वास र चेतनाको अभावले यिनको शंख्या तिब्र गतिले घटीरहेको छ ।
चिउरी, चेपाङ र चमेरो पुस्तकबाट ।







