सत्तागठबन्धनको बैठक : साझेदार दलहरूको बजेटसम्बन्धी चासो सम्बोधन गर्न प्रधानमन्त्री तयार

कम बजेट परेको क्षेत्रमा थप्ने र बढी बजेट परेको क्षेत्रबाट घटाउने सहमति
जनपत्र
३१ जेष्ठ २०८०, बुधबार ०७:४५

आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धतापछि बजेटलाई लिएर सत्तारूढ दलभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ । मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धतापछि विमति अन्त्य गरेर बजेट पारित गर्ने सहमति पनि भएको हो ।

बजेट विनियोजन असन्तुलित भएको गुनासो सत्तारूढ दलहरूबाटै आएपछि प्रधानमन्त्रीमाथि दबाब बढेको थियो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार सत्तारूढ दलहरूबीच मिल्नेजति विषयमा बजेट मिलाउने सहमति भएको छ । ‘बजेट पारित हुनुअघि मिलाउन सकिनेजति मिलाउने सहमति भएको छ,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारीलगायतका कारण बजेटमाथि पर्याप्त छलफल गर्न नपाउँदा केही समस्या देखिएको बताएका थिए । उनले मिलाउन सकिनेजति अहिले नै मिलाउने र बाँकी विषय मिलाउँदै जाने प्रतिबद्धता जनाएपछि असन्तुष्ट दलहरू बजेट पारितका लागि तयार भएका थिए ।

‘भारत भ्रमणको तयारीकै वेला बजेट तयार भयो । अलि बढी नै व्यस्त भएका कारण कतिपय विषयमा पर्याप्त ध्यान पु¥याउन सकिएन । मिलाउन सक्नेजति मिलाउने कोसिस हुन्छ, आगामी दिनमा यस्तो हुँदैन,’ प्रधानमन्त्रीको भनाइ थियो ।

कम बजेट परेको क्षेत्रमा थप्ने र बढी बजेट परेको क्षेत्रबाट घटाउने सहमति शीर्ष नेताहरूबीच भएको सहभागी एक नेताले बताए । बजेट पारितपछि पनि मिलाउन सकिनेजति विषयमा मिलाउने समझदारी सत्तारूढ दलहरूबीच भएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थमन्त्री डा। प्रकाशशरण महतको जिल्लाकेन्द्रित भएर बजेट आएको गुनासो सत्तारूढ दलहरूबाटै आएको थियो ।

सत्तारूढ प्रमुख दल कांग्रेसका सभापति देउवा विदेश भ्रमणमा जानुअघि सत्तारूढ गठबन्धनको बैठक बसेको हो । देउवाले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । ‘यो गठबन्धन सरकार हो । सबैको भावना समेटेर जानुपर्छ । मिल्ने विषयमा अधिकतम प्रयास गरौँ,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी दिनमा कमजोरी नहुने गरी अगाडि बढ्ने समझदारी बनेको बताए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीको व्यस्तताको कारण पनि सत्तारूढ दलहरूबीच बजेटअघि पर्याप्त छलफल हुन पाएन । त्यसकारण केही कमजोरी रहे । आगामी दिनमा त्यसलाई सुधारेर जाने भन्ने छ,’ नेपालले भने । यसअघि प्रचण्ड र नेपालबीच छुट्टै छलफलसमेत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*