राष्ट्रवादी कांग्रेसमा छोरीलाई अध्यक्षको जिम्मेवारी, भतिजा हेरेको हेर्यै
भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रमुख शरद पवारले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी छोरी सुप्रिया सुलेलाई सुम्पिएका छन् ।
पार्टीको २५औं स्थापना दिवसका अवसरमा शनिवार गरिएको घोषणामा सुप्रिया र प्रफुल्ल पटेललाई कार्यकारी अध्यक्ष बनाइएको छ । कार्यकारी अध्यक्षको दौडमा भतिजा अजित पवार पनि थिए तर उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।
प्रमुख शरद पवारको फैसलाले महाराष्ट्रको राजनीतिमा हलचल उत्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अजित पवारको दाबेदारी बलियो भए पनि उनलाई जिम्मेवारी दिइएन ।
कार्यविभाजनमा सुप्रियालाई महाराष्ट्र र हरियाणाको जिम्मेवारी दिइएको छ भने पटेललाई राजस्थान र मध्यप्रदेशको जिम्मेवारी दिइएको छ । यस्तो अवस्थामा अजित पवारले कुनै कदम चाल्न सक्ने चर्चा हुन थालेको छ ।
कार्यकारी अध्यक्षको घोषणासँगै शरद पवारले आफ्ना उत्तराधिकारीबारे संकेत गरेको चर्चा हुन थालेको छ । प्रमुख शरदको फैसलालाई पार्टीका अधिकांश प्रमुख नेताले समर्थन गरेका छन् ।एजेन्सी







