विश्व टेष्ट च्याम्पियनसिप फाइनल : पहिलो दिन अष्ट्रेलियाको पकडमा
विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतका लागि पहिलो दिन खासै रहेन । भारतले कंगारु टोलीविरुद्ध तीन विकेट मात्रै लिन सकेको छ ।
अष्ट्रेलियाले तीन विकेट गुमाएर ३२७ रन बनाएको छ । ट्राभिस हेड १५६ बलमा १४६ रन बनाएर अविजित छन् । उनले आफ्नो पारीमा २२ चौका र एक छक्का प्रहार गरेका छन् ।
योसँगै स्टिभ स्मिथ २२७ बलमा ९५ रन बनाएर अविजित छन् । उनले १४ चौका प्रहार गरेका छन् । हेड र स्मिथले चौथो विकेटका लागि २५१ रनको साझेदारी गरे । खेलको पहिलो दिन भारतीय कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।
मोहम्मद सिराजले उस्मान ख्वाजालाई आउट गरेर टीम इन्डियालाई प्रारम्भिक सफलता दिलाएका थिए । ख्वाजाले खाता खोल्न सकेनन् र विकेटकिपर केएस भरतको हातमा क्याच दिन पुगे ख्वाजापछि क्रिजमा आएका मार्निश लाबुशेनले डेभिड वार्नरसँगै टोलीको इनिङ्स सम्हालेका थिए ।
लाबुसेन र वार्नरले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । वार्नर ६० बलमा ४३ रन बनाएर आउट भए । सिराजको बलमा भरतले उनको क्याच लिए । लंच लगत्तै मोहम्मद शामीले लाबुसेनलाई क्लिन बोल्ड गरेका थिए । उनले ६२ बलमा २६ रन मात्रै बनाउन सके ।
अब टीम इन्डिया खेलको दोस्रो दिन पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। उसले अष्ट्रेलियाको टोलीलाई ठूलो स्कोर गर्नबाट रोक्नु पर्छ।






