युएईविरुद्ध वेस्टइन्डिज ७८ रनले विजयी
युएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा वेस्टइन्डिज ७८ रनले विजयी भएको छ । आईसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोटका लागि जिम्बाबे जानु अघि युएइ र वेस्टइन्डिजले ३ खेलको अभ्यास सिरिज खेलेका हुन् । पहिलो खेलमा ७ विकेटले विजयी भएको वेस्टइन्डिज गयराति भएको दोस्रो खेलमा ७८ रनले विजयी हुँदै सिरिज नै जितेको छ ।
पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले अन्तिम ओभरको १ बल बाँकी हुँदा सवै विकेट गुमाएर ३०६ रन बनाएको थियो ।
वेस्टइन्डिजका लागि ब्रान्डन किंगले ६४ रन बनाउँदा जोसनसन चार्लेसले ६३ रनको योगदान गरे ।
यस्तै ओडेन स्मिथले ३७ रन जोड्दा केइसी कार्टीले ३२ रन बनाएका थिए भने केभेम हगले २६ तथा साइ होपले २३ रनको योगदान गरे ।
समरह ब्रुक्सले २० रन बनाएका थिए । युएईका जोहर खानले सर्वाधिक ३ विकेट लिँदा अलि नासिर, सन्चित शर्मा, आयान अफजल खानले दुई दुई विकेट लिए । आदित्य सेट्टीको नाममा एक विकेट रह्यो ।
३०७ रनको लक्ष्यसहित मैदान उत्रिएको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर २२८ रनमात्रै बनाउन सक्यो । युईका लागि अलि नासिरले अर्धशतकीय पारि खेले । उ नले ५७ रन बनाउँदा बसिल हमिद १ रनले अर्धशतक बनाउन चुके । उनी ४९ रन बनाएर आउट भएका थिए । यसैगरी बृत्य अरविन्दले ३६ तथा आर्यन्स शर्माले २० र आयान अफजल खानले २५ रन बनाए ।
वेस्टइन्डिजका रोस्टन चेज र केभिम हगले दुई दुई विकेट लिए ।
अब तेस्रो तथा अन्तिम एक दिवसीय ९ तारिखमा हुने छ ।






