ठूला कारवाही हुँदैछन्, जनयुद्धमा झैँ एम्बुसमा परेर मरिन सक्छ : प्रचण्ड

जनपत्र
१४ जेष्ठ २०८०, आईतवार ०६:४०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेलाको जस्तै अनुभव भएको बताएका छन ।

शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेलामा मृत्युवरण गरी हामफालेको बताउँदै अहिले भ्रष्टाचारविरूद्ध पनि त्यस्तै अनुभव भएको जिकिर गरेका हुन् ।

जनयुद्ध सुरु गर्दा कति दिन बाँचिन्छ, कतिबेला मारिने हो भन्ने कुराको टुंगो नहुने गरेको स्मरण गरेका प्रचण्डले अहिले पनि त्यस्तै अनुभव हुने भनाई राखेका छन् ।

यस्तै अहिले सरकार चलाउन चुनौतीपूर्ण अवसर भएको पनि उनले बताए। आफूहरूले गरेका कामका कारण जनतामा नयाँ आन्दोलन, अभियान र संस्कारको सुरूवात हुन खोजेको अनुभूत भएको प्रचण्डको दाबी थियो ।

अहिले संसददेखि सडकसम्म नै भ्रष्टाचारको विषय तातिएको छ । प्रचण्डले यहजि प्रकरणका कारण जनयुद्धमा झैं असुरक्षाको महशुस हुन थालेको तर्क राखेका छन् ।

ठूला कारबाही हुँदैछन्, एम्बुसमा परिन सक्छ स् प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले केहि समयभित्रै भ्रष्टाचारका ठूलाठूला फाइल खोल्ने दाबी गरेका छन् ।

भ्रष्टाचारविरुद्ध सरकार लागिसकेको दाबी गरेका प्रचण्डले अब ठूला फाइल खोल्ने र भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । भ्रष्टाचारविरुद्धका फाइल खोल्दा चौतर्फी दबाब सिर्जना भएको बताएका प्रचण्डले कुन एम्वुसमा परिन्छ भन्ने थाहा नहुने तर्क अघि सारेका छन् ।

केहि समयभित्रै ठूला कारबाही गर्ने बताएका प्रचण्डले कस्ता र कुन कारबाही हुन भन्ने भने खुलाएनन् । तर, उनले आफूलाई जनयुद्धमा जस्तै जनताको साथ चाहिने र त्यसमा आफू आशावादी रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले संसदीय राजनीतिमा विचार, सिद्धान्त भन्दा पनि टाउकाले काम गर्ने भन्दै यो व्यवस्था कम्युनिष्टहरुको सभा नभएको उल्लेख गरे ।

देशको नेतृत्व लिने संख्यामा आफ्नो पार्टीका टाउकाहरु नभएको उल्लेख गरेका प्रचण्डले संसदीय व्यवस्थाप्रति नै आशंका र असन्तुष्टी व्यक्त गर्दै आएका छन् ।

तर, उनै प्रचण्ड संसदीय व्यवस्थाको खेलाडी बनेको आरोप भने माओवादी वृत्तमा लाग्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*