काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको भेट काजकिस्तानसँग
नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा बलियो टोली काजकिस्तानलाई प्रतिद्वन्द्वी पाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाको पावरहाउस भारतसँग ३–१ को सेटमा पराजित भएपछि नेपालले समूह ‘बी’ उपविजेता बनेको थियो ।
काजकिस्तान अर्को समूहको विजेता हो । टोली ‘बी’ का तीनै खेल जितेर समूह विजेता बनेको थियो ।
समूह ‘ए’ को विजेता भारतले भने समूह ‘बी’ उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । दुवै खेल शुक्रबार हुनेछन् । घरेलु टोलीविरुद्ध भारतले २५–१२, २६–२२, २१–२५, २५–२१ को सेटमा नतिजा निकालेको थियो । १३ औं सागको फाइनलमा पनि नेपाललाई ३–२ सेटले हराएर भारतले स्वर्ण पदक जितेको थियो ।
बदला लिने लक्ष्यमा रहेको नेपालले पहिलो सेटमा बिर्सनलायक प्रदर्शन गर्यो । भारतले लगातार १० अंक बटुल्दा नेपालको खातामा १ अंक थियो । अरू सेटमा भेट नेपालले पुनरागमन गर्दै चुनौती दिएको थियो । पहिलो सेटमा नेपाली खेलाडी ब्लक, डिफेन्स, स्पाइक सबैतिर असफल भएका थिए ।
नेपालका बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले पनि पहिलो सेटमा खेल्नै बिर्सिएजस्तो भएको सुनाए । उनले भने, ‘रणनीति, म्याच प्लान सबै बिर्सियौं पहिलो सेटमा । तर त्यसपछि अरू सेटमा हामीले कमब्याक गर्यौं । त्यसले एक किमिसको खुसी दिलाएको छ ।’






