सावित्राको टिम च्याम्पियन
सावित्रा भण्डारीको गोकुलम केरलाले आइतबार इन्डियन वुमेन्स लिगको उपाधि जितेको छ । उसले गुजरातको अहमदाबादमा भएको फाइनलमा किक स्टार्ट एफसीलाई ५–० ले हरायो । किक स्टार्टबाट भने नेपालकै दुई अन्य खेलाडी सरु लिम्बू र रेनुका नगरकोटीले खेलेका थिए ।
गोकुलमले लगातार तेस्रोपल्ट लिग जितेको हो । किक स्टार्टमाथिको जितमा सावित्रासँगै मनीषा कल्यान, रेणुका यादव, ज्योति कुमारी र रोजादेवीले एक–एक गोल गरे । पूरा प्रतियोगितामै गोकुलम अपराजित रह्यो र उसले १० खेलमा ६४ गोल गर्न सफल रह्यो । सावित्राका लागि यस सिजन पनि अविस्मरणीय रह्यो र उनी प्रतियोगिताकै उच्च गोलकर्ता रहिन् । उनले २९ गोल गरिन् ।
सावित्राले लगातार तेस्रो पटक इन्डियन वुमेन्स लिगको उपाधि जितेकी हुन् । २०१८–१९ मा उनले सेथु एफसीबाट लिगको उपाधि जितेकी थिइन् । २०१९–२० मा गोकुलम केरलालाई सावित्राले लिगको उपाधि दिलाएकी थिइन् । त्यसको अर्को सिजन कोभिड–१९ का कारण इन्डियन वुमेन्स लिग हुन सकेको थिएन भने त्यसपछि सावित्रा एसीएल चोटका कारण झन्डै १ वर्ष मैदान बाहिर रहँदा लिग खेल्न पाएकी थिइनन् ।






