राप्रपाले राजसंस्था र हिन्दुराष्ट्र पुनरस्थापनाका लागि मिलनबिन्दु खोजिने

जनपत्र
४ जेष्ठ २०८०, बिहीबार ०६:२४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रै ‘प्राइमरी इलेक्सन’ गर्ने निर्णय गरेको छ ।

बुधबार सम्पन्न केन्द्रीय समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्रारम्भिकरूपमा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी इलेक्सनमार्फत चयन गर्ने निर्णय भएको जानकारी दिए । राप्रपाको केन्द्रीय समिति बैठक गत १ वैशाखबाट तीन दिन काठमाडौंमा बसेको थियो ।

‘राप्रपाले केन्द्रीय समिति बैठकमार्फत प्रारम्भिकरूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी निर्वाचन प्रणालीबाट चयन गर्ने निर्णय गरेको छ,’ अध्यक्ष लिङ्देनले बैठकको निर्णय’दयगत जानकारी दिँदै भने ।

बैठकमार्फत राप्रपाले विगतमा गरिएको १२ बुँदे सम्झौता गलत रहेको भन्ने यथार्थता विकसित घटनाक्रमले प्रमाणित गरिदिएको भन्दै अवस्था र व्यवस्था दुवै बदल्न संघीयता खारेज हुनुपर्ने निर्णय गरेको छ । यसैगरी राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि मिलनबिन्दु खोज्ने निर्णयसमेत राप्रपाले केन्द्रीय समिति बैठकमार्फत भएको छ ।

‘विदेशीको आग्रहमा सम्पन्न १२ बुँदे सहमतिको मार्गचित्र गलत थियो भन्ने यथार्थ विकसित घटनाक्रमले स्वतः प्रमाणित गरिदिएको छ, त्यसैले अवस्था र व्यवस्था दुवै बदलौं भन्ने निष्कर्षसहित राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना, संघीयता खारेजीका राष्ट्रिय आवश्यकता जनआकांक्षाबमोजिम निर्णायक मिलनबिन्दुमा स्थापित गर्न टड्कारो बनेको निष्कर्ष छ,’ राप्रपाद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले बैठकमार्फत भ्रष्टाचार निर्मूल पार्न क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइडबडी काण्डलगायतका भ्रष्टाचारका घटनामा छानबिन गरेर दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।

यस्तै २०४६ सालपछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि राप्रपाले बैठकमार्फत सरकारसँग माग गरेको छ ।

यस्तै, राप्रपाले सरकारी कर्मचारीको संगठन नबनाउने, विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउनेलगायतका १७ बुँदे निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ भने केन्द्रीय नेतालाई शीघ्र भूगोलकेन्द्रित जिम्मेवारी तोकिने निर्णय गरेको छ ।

यसैगरी, पार्टीका हरेक समिति र तहमा महिलालाई कम्तीमा ३३ प्रतिशत र ४० वर्षमुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गरिने राप्रपाको निर्णय छ ।

यस्तै, राप्रपाले संसदीय दलको विधान पारित गर्ने, कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्नेलगायतको निर्णय पनि गरेको प्रवक्ता लावतीले जानकारी दिए ।

यसैगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन राज्यशक्तिको दुरुपयोग भएको भनेको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्यविरुद्ध अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन राप्रपा जोडदार माग गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । राजधानीडेलीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*