रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सद्वारा पञ्जाब किङ्स पराजित
आईपीएल २०२३ को ६४ औं प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई १५ रनले पराजित गरेको छ । बुधबार राति हिमाञ्चल प्रदेशको धर्मशालामा खेलिएको यो खेलमा दिल्लीले पञ्जाबलाई जीतका लागि २१४ रनको लक्ष्य दिएको थियो । तर, पञ्जाबले अन्तिम समयसम्म प्रयास गर्दा समेत १९८ रनमात्र बनाउन सफल भयो ।
पञ्जाबका लागि इङ्ल्याण्डका क्रिकेटर लियाम लिभिङ्स्टोनले ४८ बलमा ९४ रनको स्मरणीय इनिङ खेले । त्यसक्रममा उनले ९ छक्का तथा पाँच चौका प्रहार गरे ।
पञ्जाबको यो सीजनमा यो १३ खेलमा सातौं हार रह्यो र अब यो टीम प्लेअफको दौडबाट बाहिरिने निश्चित झैँ भएको छ । दिल्ली क्यापिटल्स यसअघि नै प्लेअफबाट बाहिरिसकेको छ ।
लक्ष्य पछ्याउने क्रममा पञ्जाबको सुरुवात खराब रह्यो । पञ्जाबका कप्तान शिखर धवन शून्य रनमै आउट भए । धवनलाई तिब्र गतिका बलर ईशान्त शर्माले आउट गरे । त्यसपछि प्रभसिमरन सिंह तथा अथर्व तायडेले ५० रनको साझेदारी गर्दै इनिङलाई सम्हाल्ने प्रयास गरे । पछिल्लो खेलमा शतक प्रहार गर्ने प्रभसिमरनले हिजोको खेलमा २२ रन बनाए ।
त्यसपछि अथर्व र लियामबीच तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे । तायडेले रिटायर्ड आउट हुनुअघि ४२ बलमा ५५ रन बनाए ।
पञ्जाबले खेल जित्नका लागि अन्तिम ओभरमा ३३ रन बनाउनु पर्ने थियो । लियामले एउटा छेउबाट संघर्ष जारी राख्दै टीमलाई जिताउने सक्दो प्रयास गरे ।
ईशान्त शर्माले यो ओभरमा एउटा नो–बल फालेर प्रतियोगितालाई थप रोमाञ्चक बनाए, जसका कारण पञ्जाबले अन्तिम तीन बलमा १६ रन बनाउनु पर्ने भयो । तर, लियामले अन्तिम तीन बलमा एक रनसमेत जोड्न सकेनन् । दिल्लीको तर्फबाट ईशान्त शर्मा तथा एन्रिक नोर्कियाले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्न मैदानमा आएको दिल्ली क्यापिटल्सका पृथ्वी शा तथा कप्तान डेविड वार्नरले पहिलो विकेटका लागि ९४ को साझेदारी गरे । वार्नरले ३१ बलमा ४६ रन बनँए भने शाले ३८ बलमा ५४ रन बनाए । त्यसपछि रिली रोसो तथा फिल साल्टका बीच ६५ रनको साझेदारी भयो । साल्टले १४ बलमा २६ रन बनाए भने रोसोले ३७ बलमा ८२ रन बनाए ।
बुधवारको खेलपछि पञ्जाब १३ खेलमा १२ अंकसहित अंकतालिकाको आठौं स्थानमा छ भने दिल्ली १३ खेलमा १० अंकसहित नवौं स्थानमा उक्लिएको छ ।
आईपीएल २०२३ मा आज राति ७ः४५ बजे सनराइजर्स हैदराबाद तथा रोयल च्यालेञ्जर्स बेंग्लोरबीच खेल हुनेछ ।







