सहिद स्मारक ए डिभिजन लिग: मछिन्द्र विजयी हुँदा संकटा र शेर्पाको बराबरी
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार भएको खेलमा मछिन्द्र क्लबले खुमलटारलाई ३-० ले पराजित गर्दै उपाधि होडमा फर्किएको छ। त्यस्तै अर्को खेलमा संकटा र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडे।
सातदोबाटो स्थित एन्फा कम्पलेक्समा भएको खेलमा मछिन्द्रको जितमा अफिज ओलावाले ओलाडिपोले दुई गोल गर्दा अर्को एक गोल आन्द्रेस नियाले गरेका थिए। खेल प्रतिस्पर्धात्मक बनेपनि मछिन्द्रले लगातार गोल गर्न सफल भएको थियो। खुमलटारले भने सिमित अवसर खेर फाल्दा पराजित हुन पुग्यो। खेलको ४२ औं मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
दोस्रो हाफमा उसले थप दुई गोल गर्यो। मछिन्द्र विरुद्ध दोस्रो हाफको सुरुवातमा दबाब दिएपनि खुमलटारले गोल गर्न भने सकेन। यद्यपि खेलको ७७औं मिनेटमा ओलावालेले टिमको अग्रता दोब्बर बनाए। ८३औं मिनेटमा ओलावालेले तेस्रो गोल गर्दै टिमको तीन अङ्क सुनिश्चित गरेका थिए। यसअघि पहिलो चरणमा मछिन्द्रले खुमलटारलाई ७-३ ले पराजित गरेको थियो।
जितसँगै तेस्रो स्थानमा रहेको मछिन्द्रको १८ खेलबाट ३० अंक बनाएको छ। समान ३० अंक नै रहेपनि एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेड हेड टु हेडमा अघि रहेको छ। पराजित खुमलटार १८ खेलबाट १७ अंक जोडेर पुछारमा छ।
त्यस्तै दशरथ रङ्गशालामा सोमबारनै भएको खेलमा हिमालयन शेर्पा र संकटाले १(१ गोलको बराबरी खेलेका थिए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भने दुबै टिमले समान १(१ गोल गरेका थिए। बराबरी पछि शेर्पा २२ अंकसाथ नवौं स्थानमा पुग्दा संकटा २१ अंकसाथ ११ औं स्थानमा रहेको छ।
खेलमा ५० औं मिनेटमा शेर्पाले अग्रता लिएको थियो। उसका लागि म्यानुएल नानाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। तर खेलको ७२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो। डिबक्स भित्र सुशील राईले आयुष घलानलाई लडाएपछि पाएको पेनाल्टीलाई आयुषले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलमा शेर्पाले ७७ औं मिनेटमा राम्रो अवसर पाएपनि गोल हुन नसक्दा अङ्क बाँड शेर्पा बाध्य भयो। उसका विश्वास श्रेष्ठ गरेको प्रहार क्रसबारमा लागेर बाहिरिँदा शेर्पा महत्वपूर्ण तीन अङ्बाट विमुख भयो।






