उत्तर प्रदेशमा झन् बलियो भयो भाजपा, मुख्यमन्त्री योगी आदित्यनाथ खुशी
भारतको राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निकाय चुनावमा भएको जीतमा खुशी व्यक्त गरेका छन् ।
उत्तर प्रदेशमा शनिवार भएको मतगणनामा १७ नगर निगममा योगीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले पूर्ण बहुमत पाएको छ । भाजपाले उत्तर प्रदेश नगर निगममा पूर्ण बहुमत पाएको यो पहिलो पटक हो ।
मुख्यमन्त्री योगीले पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘नगर निगम चुनावमा भाजपाले हालसम्मकै सबैभन्दा ठूलो जीत हात पारेको छ ।’
यससँगै उत्तर प्रदेशमा भाजपा झन् बलियो देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा सबैभन्दा बढी लोकसभा निर्वाचन क्षेत्र रहेको प्रदेश उत्तर प्रदेशमा भाजपाको प्रभाव झन् बढ्नुले २०२४ मा हुने लोकसभा चुनावमा भाजपालाई सहज हुने भएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीपछिको नेताको रूपमा मुख्यमन्त्री योगी आदित्यनाथलाई नै हेर्ने गरिएको छ ।
योगीले जीतको श्रेय शासन, विकास र सुरक्षालाई दिएका छन् । उत्तर प्रदेशमा अयोध्या, झाँसी, बरेली, मधुरा–वृन्दावन, मुरादाबाद, सहारनपुर, प्रयागराजm अलीगढ, शाहजहाँपुर, गाजियाबाद, आगरा, लखनऊ, कानपुर, मेरठ, फिरोजाबाद, वाराणसी र गोरखपुर गरी १७ नगर निगम रहेका छन् ।