कांग्रेसले बालकृष्ण खाणबारे तत्काल कुनै निर्णय नगर्ने, अदालतकाे आदेश कुर्ने
नेपाली कांग्रेसको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य बालकृष्ण खाणबारे तत्काल कुनै निर्णय नगर्ने बताएको छ ।
बिहीवार पार्टी सभापति शरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका सहमहामन्त्री जीवन परियारले खाणबारे पार्टीले कुनै निर्णय नलिएको र अभियुक्त बन्दैमा दोषी हुने प्रमाण नभएकाले अदालतको आदेश कुर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीका नेताले अनुसन्धानलाई सघाएको र निष्पक्ष छानबिनपछि आएको अदालतको आदेशलाई पार्टीले स्वीकार्ने बताउनुभयो ।
सहमहामन्त्री परियारले बैठकमा प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताउनुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई प्रहरीले हिजो बुधवार पक्राउ गरेको थियो । पक्राउ परेका खाणलाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । प्रहरीले उहाँका निजी सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।
प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ ।
यस प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।