प्रधानन्यायाधीश नियुक्ति बारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

जनपत्र
२५ बैशाख २०८०, सोमबार ०७:५३

संवैधानिक परिषद्‌को बैठक सोमबार बस्दै छ। आज साँझ ६ बजे बस्ने उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफलको तयारी रहेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्।

परिषद्‌को बैठक यसअघि वैशाख ६ गते बसेको थियो।
परिषद्‌मा बहुमत सदस्य रहेको नेकपा एमालेको सर्त र अडानका कारण प्रधानन्यायाधीशको नियुक्ति सिफारिस हुन सकेको छैन।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की भावी प्रधानन्यायाधीशको रोलक्रममा अगाडि छन्। तर एमाले कार्कीको पक्षमा सकारात्मक नभएको बताइन्छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष ओलीबीच शनिबार भएको भेट(वार्तामा जुटेको सहमतिअनुसार परिषद्‌को बैठक बोलाइएकाले सोमबार प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन्।

हाल प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेबाटै सभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि छन्।

संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिनिधिसभामा निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि गत वर्षको १ फागुनदेखि नै न्यायालय कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।

यसबीचमा निर्वाचन भई नयाँ संसद् आउँदा पनि संसदीय सुनुवाइ समिति हालसम्म गठन नभइसकेकाले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्षले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेका तीनजनाको नियुक्ति रोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*