हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित
बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गर्दै आर्सनलाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो । सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे ।
वेस्ट ह्यामले घरेलु टोली सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा सिटीको लगातारको आक्रमणलाई रोक्न सकेन ।
५०औं मिनेटमा रियाद महारेजको फ्रिकिकलाई नाथन एकेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता लिाए । ७०औं मिनेटमा हालाण्डले उत्कृष्ट गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
यो गोलसँगै उनले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमान बनाएका छन्। उनले ३३औं खेलमा यो कीर्तिमान बनाएका हो । २२ वर्षीय हालान्ड प्रिमियर लिगको एकै सिजनको सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् ।
सन् १९९३–९४ मा एलेन शेरेरले ३४ गोल गर्दै एकै सिजन सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए। त्यतिबेला प्रिमियर लिगमा ४२ खेल हुन्थ्यो । ३८ खेलको प्रिमियर लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गर्दै कीर्तिमान बनाएका थिए । जुन कीर्तिमान हालाण्डले तोडिसकेका छन् ।
लिगमा अझै ५ खेल खेल्न बाँकी रहँदा युरोपको शीर्ष पाँच लिगमा लियोनेल मेस्सीले सन् २०११–१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान समेत तोड्न सक्नेछन् ।
त्यसपछि ८५औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० को सानदार जित दिलाए । यो जितसँगै सिटीले ३३ खेलबाट २५ जितसहित ७९ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । एक खेल बढी खेलेको आर्सनलको २४ जितसहित ७८ अंक छ । पराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ ।एजेन्सी







