विश्वकप छनोट आयोजनामा नेपालको दाबी

जनपत्र
१० बैशाख २०८०, आईतवार ०७:१२

नेपालले ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्षेत्र आयोजनाका लागि प्रयास गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले छनोट खेलहरूको विवरण सार्वजनिक गरेको छ ।

त्यसअनुरूप एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिम छनोट चरण पार गरेर आउने छन् । ८ राष्ट्र सहभागी हुने एसियाको ट्वान्टी–२० विश्वकप छनोटको आयोजक राष्ट्र र प्रतियोगिताको मितिबारे पछि घोषणा हुने आईसीसीले जनाएको छ ।

नेपालले हाल एसियाली क्रिकेट परिषद् (एसीसी) को एसिया कपको छनोट आधार रहेको एसीसी प्रिमियर कप आयोजना गरिरहेको छ । १० राष्ट्रसम्मिलित यो प्रतियोगिता विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ । त्यसैका आधारमा नेपाल क्रिकेट संघ (क्यान) टोली एसियाको ट्वान्टी–२० विश्वकप छनोट गर्न हौसिएको छ ।

‘आईसीसीको विश्वकप छनोट एसियाका लागि हामीले पहल गरिरहेका छौं । एसीसी प्रिमियर कपको सफलताले त्यसको निर्धारण गर्छ होला । अक्टोबर–नोभेम्बरतिर प्रतियोगिता हुने भनिएको छ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कान्तिपुरसँग भने, ‘हामीले आयोजनाका लागि प्रस्तावित तयारी सुरु गरिसकेका छौं ।’

नेपालले सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ आयोजना गरेको थियो । त्यसयता आईसीसीको प्रमुख प्रतियोगिता आयोजना गरेको छैन । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले २०१६ मा नामिबिया, २०१७ मा केन्यासँगको खेल आयोजना गरेको थियो । त्यसबाहेक आईसीसीको प्रतियोगितामा विश्वकप लिग २ को २०१९–२३ को सर्कलमा नेपालले २०२० मा अमेरिका र ओमान तथा २०२३ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक शृंखलाका खेल आयोजना गरेको हो ।

अध्यक्ष चन्दले एसियाको ट्वान्टी–२० विश्वकप छनोट आयोजनाका आईसीसीलाई विश्वासमा लिने प्रयास गरिरहेको जनाए । एसीसी प्रिमियर कपमार्फत मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको सुरुआत गरिएको छ, यसले पनि नेपाललाई अन्य प्रतियोगिता आयोजना गर्न सजिलो बनाएको चन्दको दाबी छ । एसियाको ट्वान्टी–२० विश्वकप छनोट आयोजनाका लागि दुई मैदान आवश्यक रहेको जनाइएको छ । नेपालले आयोजनामा पाएमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदान र मूलपानीमै एसियाको ट्वान्टी–२० विश्वकप छनोट गरिने चन्दले सुनाए ।

एसीसीका प्रतिनिधिहरू प्रिमियर कपका लागि अहिले नेपालमै रहेका छन् । उनीहरूले हरेक वर्ष नेपाललाई एउटा प्रतियोगिता आयोजना गर्न दिने वचन दिएका छन् । अध्यक्ष चन्दले भने, ‘अर्को वर्ष जनवरी–फेब्रुअरीमा एसीसी ट्वान्टी–२० कप आयोजना हुने भनिएको छ, त्यसका लागि पनि हामीले पहल गरिरहेका छौं । एसीसी यू–१९ प्रिमियर कप पनि यही वर्षको अन्त्यमा हुँदै छ । हामीले ट्वान्टी–२० वा यू–१९ प्रिमियर कप यहाँ आयोजना हुनुपर्छ भनेका छौं । दुवैमा आयोजनाका लागि हाम्रो दाबी रहन्छ ।’इकान्तीपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*