चाइना-नेपाल इको पार्क : चिनियाँ लगानीको उपस्थिति देखाउने सम्भावित आयोजना

जनपत्र
१९ श्रावण २०७६, आईतवार ०५:३८

लगानी बोर्डको शुक्रबार बसेको ३९औं बोर्ड बैठकले झापा जिल्लाको दकममा ‘चाइना–नेपाल इको इन्ड्रस्ट्रियल पार्क’ निर्माणका लागि ६४ अर्ब रुपैयाँ चिनियाँ लगनाी स्वीकृत गरेको छ। बोर्डको बैठकले चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन र जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानी स्वीकृत गरेको हो।

सो औद्योगिक पार्क चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड ईनिसिएटिभ’ (बिआरआई) अन्तर्गत रहेर अगाडि बढिरहेको बताइएको छ। युरोप, अफ्रिका र एसियाका अधिकांश मुलुकलाई यातायात संजालमार्फत एउटै साङ्लोमा बाँध्ने चीनको महत्वाकांक्षालाई नेपालले मात्र होइन, विश्वले नै नजिकबाट नियालिरहेको छ।

चिनियाँ लगानी र उसको व्यवसायिक साम्राज्य विस्तारको महत्वाकांक्षी बिआरआई परियोजनामा प्रतिबिम्बित भइरहेका कारण पनि शक्ति राष्ट्रले समेत यसलाई महत्वका साथ हेरिरहेका छन्। यद्यपि, अमेरिका, जापान र भारतजस्ता शक्तिराष्ट्र भने यसमा आबद्ध भइसकेका छैनन्।

बिआरआई परियोजना अन्तर्गतको यो आयोजनालाई चीनले पनि महत्वका साथ अगाडि बढाउन चाहेको छ। २०१७ को डिसेम्बर अन्तिम साता चिनियाँ उच्च अधिकारीहरुले आयोजनाको स्थलगत अवलोकन गरेका थिए। ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोनका प्रमुख लिउ रुपेङसहितको उक्त चिनियाँ टोलीले आयोजना निर्माणस्थलसँग भारतीय सीमा नाका काँकडभिट्टासम्म पुगेर अध्ययन गरेको थियो।

नेपालमा बनिरहेको चिनियाँ लगानीको उक्त आयोजना भारत, भुटान र बंगलादेशको सीमा नजिक पर्ने भएका कारण पनि महत्वका साथ हेरिएको छ। बंगलादेश र भुटान बिआई परियोजनामा आबद्ध भइसकेका छन् भने भारत त्यसमा जोडिएको छैन। तर, झापामा बन्न लागेको यो पार्कले नेपालसँग मात्र नभई भुटान, बंगलादेश र भारतसँगको सम्बन्धमा दीर्घकालीन रणनीतिक महत्व बोकेको बुझ्न गाह्रो छैन।

औद्योगिक पार्क बन्ने भनिएको क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार पार्ने स्वीकृति भने नेपाली कम्पनी दमक क्लिन ईन्ड्रस्ट्रियल पार्कले पाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*