मौन अवधिमा चुनावी प्रचार गरेमा उम्मेदवारी रद्दसमेत हुन सक्ने

जनपत्र
८ बैशाख २०८०, शुक्रबार ०७:५५

बारा २, चितवन २ र तनहुँ १ मा पर्सि १० गते हुने उपचुनावका लागि मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि सुरु भएको मौन अवधि मतदान नसकिएसम्म कायम रहनेछ । यस अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचार प्रसार गर्न नहुने, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने आयोगको आचार संहितामा उल्लेख छ।

निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो । तनहुँ–१ मा चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा–२ मा जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपचुनाव हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*