मन्त्री रिजालद्वारा आयल निगमको अमलेखगञ्ज डिपोको अवलोकन भ्रमण, उच्च मनोबलका साथ कार्य गर्न निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगञ्जको अवलोकन भ्रमण गरेका छन् ।
बुधवार गरिएको भ्रमणका क्रममा मन्त्री रिजालले आगल निगमको डिपो तथा वर्तमान अवस्थामा सञ्चालन भईरहेको पाईपलाईनको कन्ट्रोल रुम, पाईपलाईन दोस्रो चरणको निर्माणस्थलको अवलोकन गरेका थिए ।
भ्रमण एवं अवलोकनपश्चात मन्त्री रिजालले आफूले निगमको हितका लागि सक्दो सहयोग गर्ने तथा अहोरात्र खटेर काम गरिरहेका निगमका कर्मचारीहरुलाई अझै उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।
मन्त्री रिजाललाई निगमका कार्यकारी प्रमुख उमेश थानी तथा प्रादेशिक प्रमुख बिनित मणि उपाध्यायलगायत डिपोमा कार्यरत अन्य कर्मचारीहरुले स्वागत गरेका थिए ।
प्रादेशिक प्रमुख बिनित मणि उपाध्यायका अनुसार भारतको मोतीहारी–अमलेखगञ्ज पाइप लाइन अन्तर्गत पहिलो चरणमा मोतिहारीदेखि अमलेखगञ्जसम्म कुल ६९.२ किलोमिटर (भारततर्फ ३३.२ तथा नेपालतर्फ ३६ किमी), पाइपलाइन विछ्याउने कार्य सम्पन्न भैसकेको छ । यसका साथै पाइपलाइन प्रोसेस एरिया (अमलेखगञ्ज टर्मिनल) को निर्माण कार्य सम्पन्न भैसकेको छ भने एक्सटेन्सन अफ फायर फाइटिङ नेटवर्क (फायर इन्जिन, जक्की पम्प) का साथै अन्य सुरक्षा सम्बन्धित उपकरणहरु खरिद गरिएको छ भने चार वटा डिजल ट्याङ्कको रि–इन्जिनियरीङ कार्य गरी पाइपलाइन कम्प्याटिबल ट्याङ्समा परिणत गरिएको छ ।
त्यस्तै पाइपलाइन सञ्चालनका लागि आवश्यक पिएमसीसी रुम, प्यानल तथा कन्ट्रोल रुपको निर्माण कार्य सम्पन्न गरिएको छ । पाइपलाइनसंगै इन्डियन आयलका विभिन्न पाइपलाइन स्टेशनसंग निरन्तर संवादमा रहनका लागि अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न भई हाल आईपि फोनमार्फत नोनिया, पटना तथा मोतिहारी स्टेशनलहरुसंग सम्बाद भैरहेको छ ।
यसका साथै कुल ३७५ करोड भारु लगानीमा बनेको पाइपलाइन २०७६ भदौ २४ मा उद्घाटन भै सञ्चालनमा आए पश्चात ३५ लाख किलोलिटरभन्दा बढी डिजल आयात भैसकेको छ ।
यसैगरी, दोस्रो चरणमा सन् २०२४ को जनवरीदेखि पेट्रोल आयात गर्न सकिने गरी कार्य अगाडि बढिरहेको छ । त्यसका लागि एमएस ट्यांकीको फाउण्डेसनको कार्य भैरहेको छ भने फाइर वाटर ट्याङ्क्सको फाउण्डेसन वर्क सम्पन्न भैसकेको छ । यसका साथै पिएमसीसी, कन्ट्रोल बिल्डिङ, गार्ड रुम तथा एस एण्ड डि को ग्राउण्ड फ्लोर रुपसम्मको कार्य सम्पन्न भैसकेको छ ।
दोस्रो चरणमा जम्मा २१४ करोड भारतीय रुपैयाको लगानी (करिब १५४ करोड भारु नेपालले तथा करिब ६० करोड भारु भारतले) गरिने ।
दोस्रो चरणमा १ लाख ४ हजार १०० किलोलिटरको पेट्रोल ट्यांक निर्माण गरिँदैछ ।







