युनाईटेडको सहज जित, आर्सनल बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई २-० ले पराजित गरेको छ।
गएराति भएको खेलमा आर्सनलले वेस्ट ह्यामसँग २-२ गोलको बराबरी खेलेको हो। आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो।
खेलको सातौं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए। दशौँ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दा आर्सनल २-० ले अघि रह्यो।
खेलको ३३ औं मिनेटमा सेद बेन्रहमाले पेनाल्टीमार्फत गोल गर्दै वेस्ट ह्यामलाई २-१ को स्थितिमा ल्याए। ५२ औं मिनेटमा आर्सनलका बुकायो साकाले पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसपछि खेलको ५४ औं मिनेटमा जार्रोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई २-२ गोलको बराबरीमा ल्याए।
यस बराबरीसँगै आर्सनलले ३१ खेलमा ७४ अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा यथावत रहेको छ। वेस्ट ह्याम ३१ अंक जोडेर १५ औं स्थानमा रहेको छ।
गएराति नै भएका अर्को खेलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ। नाईटेडले नटिङघम फरेस्टलाई २-० गोल अन्तरले हराएको हो। युनाईटेडको जितमा एन्टोनी र डिएगो डालोटले एक एक गोल गरे। जितसँगै युनाईटेडले ३० खेलमा ५९ अंक जोडेको छ। युनाईटेड तेस्रो स्थानमा रहेको छ। फरेस्ट २७ अंक जोडेर १८ औं स्थानमा रहेको छ।






