सूचना नदिने प्रशासकीय अधिकृतलाई सात दिनभित्र लिखित जवाफ पठाउन आयोगको आदेश
सूचना नदिने सप्तरीको राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरञ्जन यादवलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ।
पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको चैत २९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो।
पत्रकार यादवले नगरपालिकामा उपलब्ध रहेको सवारीसाधन ९चालू, ठप्प, र हाल मर्मत०को विवरण, आर्थिक वर्ष ०७८–७९ र हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण, आव ०७८–७९ र हालसम्म खर्चिएको कुल बजेट ९योजना शीर्षकअनुसार०को विवरणसहितको भौतिक प्रगति विवरण, आर्थिक वर्ष ०७८–७९ र हालसम्म फोहोर व्यवस्थापन र सरसफाइ शीर्षकमा खर्चिएको बजेट विवरण, नगरपालिकामा रहेको दरबन्दीलगायत भौतिक प्रगति विवरणको सूचना माग गरेका थिए।
गत माघ २२ गते नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत फागुन २६ गते निमित प्रमुख प्रशासकीय अधिकृत यादवसँग सूचना मागेका थिए।
तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले फागुन २७ मा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए।पुनरावेदनपत्रका आधारमा आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० ९२० बमोजिम सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।






