ओली–माधवको मिलनमा प्रतिशोध बाधक

जनपत्र
३० चैत्र २०७९, बिहीबार ०६:५५

विभाजनको २ वर्ष पुग्न लाग्दा पनि नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच आरोप प्रत्यारोपको राजनीति टुंगिएको छैन ।

विभाजनका कारण दुवै पक्षको शक्ति क्षयीकरण भएको छ । शक्ति गुमेपछि एकताको महशुस दुबै पक्षले गरेका छन् । तर एकअर्काप्रति प्रतिशोधको राजनीतिबाट बाहिर निस्कन नसक्दा एमाले र नेकपा एस अलमल र सत्रु जस्ता बन्न पुगेका छन् ।

झण्डै १५ वर्ष एमालेको नेतृत्व गरेका माधव नेपालको एमालेसँग सम्बन्धविच्छेद भएको २ वर्ष पुग्न लागेको छ ।

एमालेबाट २०७८ भदौमा अलग भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे ।

२०७५ जेठमा बनेको नेकपा कालदेखि सुरु भएको माधव नेपाल र केपी ओली अन्तरद्वन्द हालसम्म पनि कायम छ ।

यो २ बर्षको समयमा एमाले र नेकपा एसले कयौँ राजनीतिक उतारचढाव बेहोरिसकेका छन् ।

दुवै दलले एकअर्काको आवश्यकता समेत महशुस गरिसकेका छन् । तर, नेतृत्वकर्ताको जुँगाको लडाईँका कारण पुनर्मिलन टाढिँदै गएको छ ।

तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटनको कदम चालेको विषय माधव नेपालको बहिर्गमनको मुख्य कारक बन्यो ।

सयौँपटक यसको विरोध गरेका नेपालले आजसम्म पनि सोहि कारण कोट्टयाउँदै एमालेबाट अलगिनुको औचित्य पुष्टी गर्ने प्रयास गर्ने गरेका छन् ।

माधव नेपालले पार्टी नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्ने मुख्य पात्र बनेको आरोप एमालेको छ ।

तत्कालीन ५ दलीय गठबन्धनमा रहेर स्थानीय र संघीय निर्वाचनमा सामेल भएका नेता नेपालले एमाले उम्मेदवारलाई पराजित गर्न हरसम्भव प्रयास गरे ।

गठबन्धनकै कारण एमाले दुवै निर्वाचनमा हार बेहोर्न पुग्यो । त्यसो त नेपाललाई पनि यो कदमले फाईदा पुगेन ।

स्थानीय तह निर्वाचनमा पाँचौ बनेको नेकपा एस संघीय निर्वाचनमा १० सिट जीतेपनि थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीसमेत बन्न सकेन ।
विभाजनले नोक्सान मात्र भोगेका एमाले र नेकपा एसले पछिल्लो समय एक भएर अगाडी बढ्ने प्रयासहरु पनि गरेका छन् । तर एक अर्काप्रति प्रतिशोधको राजनीतिबाट बाहिर निस्कन नसक्दा ति प्रयासहरु सफल हुन सकेका छैनन् ।

पछिल्लो राजनीतिक परिवेशले दुवै दललाई एक अर्काको आवश्यकता महशुस गराएको छ । तर नेताहरुमा एकअर्काप्रति तुष अझै बाँकी छ ।

विभाजनको २ बर्ष पुग्न लाग्दापनि एकले अर्कालाई आरोप लगाउने र त्यसको खण्डन गर्न उनीहरु हरबखत उद्दत देखिने गरेका छन् ।

यो प्रवृत्ति नेपालका कम्युनिष्ट पार्टीहरुमा राजनीतिक संस्कारकै रुपमा अघि बढेको जस्तो बन्न पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*